युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार जोखिममा छ : अध्यक्ष यादव

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Fundamental rights of people are at risk all over the world due to war, conflict and atrocities: President Yadav

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। उनले युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार जोखिममा रहेको बताए।

भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तरार्ष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानूनी न्याय सुनिश्चित हुनुपर्ने बताए।

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनु पर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनु पर्ने बताए ।

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढदै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दावी गरेका छन्।  ‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन् गरिरहेको छ ।  विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण,  लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ,' उनले भने। 

जाति, लिंग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढदै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकारको रक्षा,  शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच,  महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुँच र प्रतिनिधित्वको सुनिश्चित्तता गरिनु आवश्यक रहेको बताए। 

भारतको हैदरावादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भईरहेको तीन दिवसीय उक्त सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

कान्तिपुर

Link copied successfully