पुण्यानन्द ठाकुर तीन महिना गाउँ डुल्दै दाह्री, कपाल काट्छन्, केही समय हराएर फेरि गाउँ आउँछन्, पहिलेको श्रमको बाली उठाउँछन्
झोरहाट, मोरङ — वैशाखको चर्को घाममा बेतोड हुइँकिइरहेका गाडीले उडाएको धूलोलाई हावाले उनीतिरै हुत्याइरहेको थियो । ६० वर्षीय पुण्यानन्द ठाकुरलाई त्यसको कुनै पर्वाह थिएन । सडकछेउ पातलो छायातिर मुढा राखेर बसेका उनको अघिल्तिर थिए, उनका पुराना ग्राहक स्थानीय महानन्द सरदार । सरदारको दाह्रीमा पुण्यानन्दले पहिला क्रिम लगाइदिए अनि धारिलो उस्तरा चलाए । यो उनको पुस्तैनी पेसा हो ।
ग्रामथान गाउँपालिकास्थित घनाघाट–विराटचोक सडकछेउमा ग्राहकसँग हाँस्दै–गफिँदै उस्तरा चलाइरहेका पुण्यानन्दले सुनाए, ‘यो पेसा मेरा हजुरबुवाबाट सुरु भएको हो । हजुरबुवापछि बुवाले गर्नुभयो, अहिले मैले सम्हालेको छु ।’ काइँयो, कैंची, ऐना, ब्रस र उही उस्तरा झोलामा राखेर उनका हजुरबुवा र बुवा विराटनगर आसपासका देहातहरू घुमेका थिए ।
अहिले उनी पनि तिनै सामानसहितको झोला बोकेर डुल्छन् । उनी पछिको पुस्ताले भने यो पेसालाई रोजेन, अरू नै व्यवसाय अँगाल्यो ।
ठाकुर परिवारले बिहार–विराटनगर आउजाउ थालेको करिब एक सय वर्ष भयो । सुरुमा उनका हजुरबुवा आए, उनलाई बुवाले पछ्याए । बुवाको शेषपछि पुण्यानन्दको ओहोरदोहोर सुरु भयो । ‘मैले धाउन थालेको पनि ४० वर्ष नाघिसकेछ,’ दायाँ हातले जुँगा खुर्किएपछि उस्तरामा लागेको रौं बायाँ हत्केलामा पुछ्दै उनले भने, ‘नेपाल आउन थालेको अस्ति जस्तो लाग्छ, कति चाँडो समय बितिसकेछ !’
पुण्यानन्द वर्षमा ६ महिना नेपालमा बिताउँछन् । तीन महिना गाउँ धाउँदै दाह्री–कपाल काट्दै हिँड्छन् । केही समय हराउँछन् । अनि पुनः तीन महिना त्यो श्रमको बाली उठाउँदै हिँड्छन् । खासगरी पुसदेखि फागुनसम्म उनको बाली उठाउने समय हो । नेपाली समाजमा दशकौँदेखि जरा गाडेर बसेको ‘बालीघरे प्रथा’ अहिले समाप्तिको संघारमा छ । सहर, बजार र शिक्षित समाजमा यो प्रथा इतिहासजस्तै बन्न लागे पनि पूर्वी तराईका देहातमा अझै कायम देखिन्छ । खासगरी भारत बिहारबाट आउने ठाकुरहरूले यो प्रथालाई निरन्तरता दिइरहेका छन् ।
श्रम गरेपछि ठाकुरलाई कसैले इमानदारीपूर्वक धान दिन्छन्, कसैले ‘छैन’ भन्दै पन्छाउँछन् । ‘भोलि आउनू, पर्सी आउनू भनेर टार्छन्,’ पुण्यानन्द गुनासो पोख्छन्, ‘बाली उठाउन जस्तो गाह्रो यस दुनियाँमा केही पनि छैन जस्तो लाग्छ ।’ उनका अनुसार एक परिवारले वर्षमा ३०–३५ किलो धान ज्यालाका रूपमा दिन्छन् । उनी कुनै बेला धानै बोकेर बिहार जान्छन् । कहिलेकाहीँ धान बेची पैसा खल्तीमा हालेर नाका तर्छन् । ‘पहिला दुई/तीन सय घरभन्दा बढीको दाह्री–कपाल काट्थें,’ पुण्यानन्द सुनाउँछन्, ‘अहिले पुगनपुग ३०–४० घरको मात्रै काट्छु ।’
उमेर ढल्किँदै गएपछि उनलाई अचेल कपाल काट्दै गाउँ चहार्न झिँजो लाग्न थालेको छ । छोराले पनि ‘अब आराम गर्नू’ भनेका छन् । तर मन मान्दैन । भन्छन्, ‘नेपालमा आएर कपाल काट्ने लत बसेछ । अब दुई वर्ष जति अझै गर्छु होला ।’ झोरहाटमा डेरा लिएर बसेका पुण्यानन्द हरेक बिहान झोला भिरेर गाउँ चहार्छन् । पिडारवनी, पलासी, नेता चोक, झोरहाट, तेतरिया जस्ता गाउँटोलमा उनलाई नचिन्ने कोही छैनन् । स्थानीय महानन्द सरदार भन्छन्, ‘उनीसँगै वर्षौंदेखि हामी दाह्री–कपाल काटिरहेका छौं । उनी हाम्रा विश्वासिला ठाकुर हुन् ।’
