सडकमा थरीथरीका प्रदर्शन, सर्वसाधारणलाई सधैं सास्ती

ट्राफिक प्रहरीको गुनासो- 'सर्भिस लेन बाहेक अन्यन्त्र प्रदर्शन गर्दिनु भन्दा पनि मान्दैनन्

वैशाख १२, २०८२

विवेक पोख्रेल

Various demonstrations on the streets, always suffering the common people

काठमाडौँ — तीनकुनेमा बस्ने एकता कुमारी चौधरी थारू माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा काम गर्छिन् । डिजिटल हाजिरी भएकाले समयमै हाजिर भएन भने ढिलो आउनुको कारणबारे स्पष्टीकरण दिनुपर्छ । ‘प्रदर्शनका कारण माइतीघरदेखि नयाँबानेश्वरसम्म बाटो बन्दा हुँदा पैदलै जानुपरेको छ,' उनले भनिन्, ‘कोठाको काम सकेर हिँडेर जाँदा कहिले ढिलो हुन्छ । ’

राइड सेयरिङ सेवा पठाओ र इन्ड्राइभ गर्दा महँगो पर्ने गरेको उनले सुनाइन् । ‘पहिले ८० रुपौयाँमा पाउने सेवा अहिले १ सय १५ सम्म पर्ने गरेको छ,' उनले भनिन्, ‘त्यो पनि अनलाइनबाट सेवा पाउन मुस्किल छ । अफलाइन गर्नुपर्छ । ’

काँडाघारीका सुजन सिवाकोटीलाई सार्वजनिक बसले प्रदर्शनको मौका छोपेर बढी भाडा लिने गरेको मन परेको छैन । शुक्रबार माइतीघरमा भेटिएका उनले भने, ‘पहिले २५ रुपैयाँ भाडा तिरेर आउँथे, अहिले ३५ रुपैयाँ तिर्नुपरेको छ । ’

आफ्नै मोटरसाइकलमा भक्तपुरको सानोथिमिबाट डिल्लीबजारमा रहेको अफिस आउनेजाने गरेका पबिनकुमार माझीलाई पनि आन्दोलनले असर पारेको छ । पहिले २०/२५ मिनेटमा अफिस पुग्ने उनी जाम र वैकल्पिक बाटो प्रयोग गर्दा झन्डै एक घण्टा लाग्ने गरेको बताउँछन् ।

Various demonstrations on the streets, always suffering the common people

मुख्यत: नेपाल शिक्षक महासंघको लगातारको प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानुपर्ने कर्मचारी र स्कुले विद्यार्थीहरुलाई मर्का परेको छ ।

तीनकुने-नयाँबानेश्वर-माइतीघर सडकखण्डमा असर पर्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ चैत्रमा हिंसात्मक प्रदर्शन गर्‍यो । ७ वैशाखमा पनि उसले प्रदर्शन गर्‍यो । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । काठमाडौंको मुख्य सडकमध्येको ८ लेनको सडकबाट प्रहरीले ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाए पनि यात्रुलाई समस्या थपेको छ । एमालेले बिहीबार प्रदर्शनीमार्ग-भृकुटीमण्डपमा प्रदर्शन गर्दा दिनभर यो क्षेत्र अस्तव्यस्त बन्यो । चिकित्सकहरू पनि यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् ।

Various demonstrations on the streets, always suffering the common people

८ लेनको सडकबाट दुईलेनको सडकमा सवारी साधन पठाउँदा ट्राफिक व्यवस्थापन थप असहज भएको सडकमा कार्यरत एक ट्राफिक प्रहरीले बताए । उनले भने, ‘सामान्य समयमा भन्दा अहिले काम गर्न निकै असहज भएको छ । एउटै अनुरोध यात्रुहरुलाई पटकपटक गर्नुपरेको छ । बाटो बन्द छ भन्दा पनि मेरो घर त्यहीँ हो, मेरो काम यहीँ हो भन्नुहुन्छ । जवाफ दिँदादिँदा थाक्छौं । ’ प्रदर्शका कारण सर्वसाधारण यात्रु र प्रहरी दुवैले दुःख पाएको उनले बताए ।

हिजोआज बिहान साढे ११ बजेदेखि साढे ३ बजेसम्म माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सर्भिस लेन छाडेर आन्दोलन गर्दिनुभन्दा पनि नमानेकाले यो समस्या आएको बताउछन् । ‘हामीले सडकको बीच भागमा मात्र आन्दोलन गर्दिनु भनेर बिन्ती गरे पनि उहाँहरुले मान्नुभएको छैन,’ घिमिरेले भने, ‘यसको असर तीनकुने र माइतीघर मात्र होइन कुपण्डोलदेखि गौशाला क्षेत्रसम्म पुगेको छ ।’

Various demonstrations on the streets, always suffering the common people

सडक प्रदर्शनका कारण कतिपय बिरामीले समयमा डाक्टर भेट्न सकेका छैनन् । काम गर्नेहरु समयमा कार्यालय पुगेका छैनन् । ‘बाटो त सबैको होला नि ? बाटो बन्दा हुँदा गरिखानेलाई निकै दुःख भयो । हामी जनतालाई अप्ठ्यारो भयो,' थारुले थपिन् ,‘मिल्ने कुरा मिलाएर शिक्षक र सरकार दुवैले जनताको सजिलोका लागि काम गर्नुपर्‍यो । लामो बाटो हिँडे शरीर थाक्छ । काममा ध्यान पुग्दैन ।’

प्रदर्शनका कारण बिरामी,  अशक्त, अपांग र वृद्धवृद्धालाई थप समस्या भएको छ । अहिले दैनिक जीवनयापनका लागि यही सडक हुँदै आउजाउ गर्ने हजारौं यात्रु प्रदर्शनका कारण अलपत्र पर्ने गरेका छन् । बानेश्वर राजधानीको अत्यन्तै व्यस्त सडकमध्ये एक हो । १० हजारभन्दा बढी सवारीसाधन यो बाटोमा व्यस्त समयमा २ घण्टामा आवतजावत हुने ट्राफिक प्रहरी बताउँछन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully