प्रतिगमनतर्फ देशलाई लैजान हत्या, तोडफोड, आगजनी गरी जंगली शासन थप्न खोजिएको टिप्पणी
काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्नेबारे चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले बिहीबार काठमाडौंमा गरेको ‘युथ सेलिब्रेसन’ सभामा उनले संसद्को बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयास आफ्नो दलले गरिरहेको समेत बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्रलाई युवासँग जोड्न तथा लोकतन्त्रबारे फैलाइएको भ्रमबारे युवालाई प्रस्ट्याउन भनेर आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीले राष्ट्रवादी अडानका कारण एमालेमाथि आक्रमण भइरहेको बताए ।
‘कुनै भ्रममा नपर्नुस्, हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्त्वहरू एमालेविरुद्ध खनिएका छन्,’ उनले भने, ‘लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्ति हामीसँग भयभीत भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।’
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्नै लागेको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा उनले राजनीतिक स्थायित्वका लागि बनेको सरकारले त्यहीअनुसार काम गरिरहेको बताएका थिए । उनले कार्यकर्तालाई २०८४ को निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिए ।
‘एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौं, २०७४ को चुनाव भन्यौं, २०७९ को चुनाव भन्यौं र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं । ढुक्कले मिसन, ०८४ मा लाग्नुस् ।’
प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि युवालाई संघर्षमा उत्रने मानसिकता बनाउन निर्देशन दिए । ‘आवश्यक पर्छ भने संघर्षको मैदानमा उत्रिन तयार हुनुपर्छ र हाम्रा अग्रज, पुर्खाले जुन संघर्ष गरेर देशलाई यहाँसम्म ल्याएका छन्, आज ती उपलब्धिको रक्षा गर्दै अगाडि बढ्न युवा पुस्ताको संकल्प र त्यसका निम्ति सक्रिय प्रयास जरुरी छ,’ उनले भने ।
प्रधानमन्त्री ओली भन्छन् :
मुलुकमा साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्न पनि प्रधानमन्त्रीले आग्रह गरे । ‘अनेक ढंगले साम्प्रदायिक विद्वेष भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन् । जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूगोल र अनेक नाममा फुटाउने प्रयास भइराखेका छन्,’ उनले भने, ‘यस्ता कुप्रयास र कुचेष्टाबाट हामी स्पष्ट हुनुपर्दछ र देशलाई एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्दै, संविधानको रक्षा गर्दै समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनुपर्छ ।’ राजतन्त्र फर्काउने प्रयासलाई उनले ‘पाखण्डी सिद्धान्त’ को संज्ञा दिए ।
उनले प्रतिगमनतर्फ देशलाई लैजान हत्या, तोडफोड, आगजनी, व्यक्तिका घर, पार्टीका कार्यालय, व्यापारिक प्रतिष्ठान, सञ्चार गृहमाथि आक्रमण गरी जंगली शासन थप्न खोजिएको टिप्पणी गरे । ‘युवाले यस्ता कुरालाई अस्वीकार गर्न आँट गर्नुपर्छ,’ उनले भने, ‘संविधानको रक्षा गर्ने र देशलाई सुशासन तथा समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्छ ।’
एमाले महासचिव शंकर पोखरेलले स्वाधीनता, स्वाभिमानको पक्षमा दह्रो गरी उभिएका कारण एमालेमाथि घेराबन्दी र आक्रमण भएको दाबी गरे । पछिल्लो समय राजावादी सम्हू तथा पार्टीले हालको व्यवस्थामाथि प्रश्न उठाएर प्रदर्शन बढाएपछि सत्तामा रहेको एमालेले त्यसको जवाफ सडक प्रदर्शनबाटै दिन खोजेको छ ।
सभामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियु सभापति अश्विनी शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति विष्णु पोखरेललगायतले पनि मन्तव्य राखेका थिए ।
