काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानेर अवरोध सिर्जना गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले सरकारले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्तिलाई नै निशाना बनाएको टिप्पणी गरे । गभर्नर नियुक्ति, विभिन्न आयोगहरूमा गरिएको नियुक्ति, शिक्षक तथा स्वास्थ्यकर्मीको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ।
उनले भने, 'अहिले बैंकले कम ब्याजमा ऋण प्रवाह गर्छु भने पनि व्यवसायीहरू ऋण लिएर व्यापार व्यवसाय फैलाउन चाहिरहेका छैनन्। लगानीको सुनिश्चितता छैन। निजी क्षेत्रप्रति हेर्ने सरकारको दृष्टिकोण नै गलत छ। पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय बाहिर आएको छ। शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन्। सहकारी पीडितहरूले बचत फिर्ता पाएका छैनन्। जसले दैनिक १८ घण्टा काम गरेर देश उज्यालो बनायो, उही व्यक्ति सरकारको निशानामा पर्यो। यसरी हेर्दा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानेर अवरोध गर्ने प्रवृत्ति देखिएको छ।’
उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोप्रति दुःख व्यक्त गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । साथै, सरकारप्रति विश्वास नहुँदा बैंकले कम ब्याजमा ऋण दिन्छु भने पनि व्यवसायीहरू व्यवसाय गर्न तयार नभएको उल्लेख गरे ।
उनले भने, ‘गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति, सडक शिक्षक र स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न सकेको छैन। सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ। यस विषयमा सरकार गम्भीर होस्। निजी क्षेत्रको अवस्था पनि दयनीय छ। सरकारप्रति विश्वास छैन।'
उनले मुलुकको समग्र सुधारका लागि पटक–पटक सरकारमा गएका दलहरूमध्ये अग्रसरता कसले लिने भन्ने प्रश्न पनि गरे ।
