अघिल्लो वर्ष नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले फर्कंदा नेपालका दुई हात्तीलाई साथै लैजाने घोषणा गरेका थिए
चितवन — ठीक एक वर्षअघि १२ वैशाख २०८१ मा नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले फर्कंदा खगेन्द्रप्रसाद र रुद्रकलीलाई पनि साथै लैजाने घोषणा गरिएको थियो । भ्रमण सकेर कतारका शेख फर्केको वर्ष दिन बित्दा पनि दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली कतार उड्न पाएका छैनन् ।
नेपाल सरकारले कतारलाई उपहारका रूपमा यी दुई हात्ती पठाउन लागेको हो । ‘हामी तयारीमा अवस्थामै छौं, लैजाने भनेका दिन पठाउन सक्छौं,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल भन्छन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त लैजाने घोषणा गरिए पनि वर्ष दिनसम्म पठाउने प्रक्रिया थाल्नेबारे कुनै निर्देशन नआएको बताउँछन् । कतारलाई दिन उपयुक्त हात्ती तयार गर्न भनेपछि निकुञ्जले रुद्रकली र खगेन्द्रप्रसाद छानेको थियो ।
हात्ती उपहार दिने विषय अगाडि बढेपछि चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठसहितको टोली कतार पुगेर त्यहाँको वातावरण बुझेर फर्केको थियो । उक्त टोलीले हात्ती लगेर राख्ने भनेको कतारको अलखोर जू (चिडियाखाना) को अध्ययनसमेत गरेको थियो ।
चितवन निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले नेपाली टोलीले अलखोर जूमा हात्तीका लागि बस्न मिल्ने वातावरण तयार गर्न सकिने क्षमता रहेको र त्यो तयार गर्न उनीहरू प्रतिबद्ध रहेको जानकारी गराएको बताएका थिए । अलखोर जूका प्रतिनिधि पनि चितवन आएर लैजाने भनिएका दुवै हात्तीबारे बुझेर फर्केका थिए ।
‘हात्तीलाई कार्गो विमानबाट लैजानुपर्ने भएका कारण कतार एयरवेजको टोली चितवन आएर सबै कुरा बुझेर फर्केको थियो,’ पुन भन्छन् । रुद्रकली सन् २०१८ अक्टोबर ९ मा जन्मेको हो भने खगेन्द्रप्रसाद सन् २०१९ सेप्टेम्बर २५ मा जन्मेको हो ।
निकुञ्जमा जन्मेका हात्तीको बच्चाको न्वारन गरी पोथी भएमा नामका पछाडि कली या माला र भाले भए प्रसाद या गज लेख्ने चलन छ । रुद्रकली पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकलीको सन्तान भएको चितवन निकुञ्जले जनाएको छ ।
दुवैको बाबु चितवन निकुञ्जमा डुल्ने र प्रायः पूर्वी भेग सौराहा तथा खोरसोर वरपर बस्ने जंगली भाले हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जका अधिकारी बताउँछन् । ठूलो हात्ती उपहार दिँदा नयाँ वातावरणमा घुलमिल हुन नसक्ला कि भनेर भर्खर तालिम पूरा गरेका साना हात्ती छनोट गरिएको थियो ।
लोपोन्मुख जीव हात्तीलाई अर्को देश लैजाने विषयमा संकटापन्न एव लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने संकलन, ओसारपसार र व्यापारलाई नियमन गर्ने साइटिस महासन्धिको पनि पालन गर्नुपर्छ । साइटिस प्रावधानलाई पूरा गर्नुपर्दार् समय लागेको हुन सक्ने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल अरू सबै विषय टुंगिएकाले कतार सरकारले हात्ती पठाइदेऊ भन्नासाथ प्रक्रिया अघि बढाउने बताउँछन् । उनले हात्तीलाई चितवनबाट विमानस्थलसम्म ल्याउने खर्चको पनि इस्टिमेट गर्न भनिसकेको बताए ।
