जनमोर्चा अध्यक्ष केसीको प्रश्न : आफू भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ?

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Janamorcha president KC's question: How do people remind people that they are involved in corruption?

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले सत्तामा गएकाहरूले अप्ठ्यारो परेका बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाथि खतरा बढेको बताए। उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने उल्लेख गरे। सत्तामा बसेकाहरू नै भ्रष्टाचारमा लिप्त र व्यवस्था विरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ।

उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्छन्, तर सम्झौताहरू कार्यान्वयन गर्दैनन्। ०४६ सालको कुरा लिनुस्, २०६२/०६३ सालको कुरा लिनुस्। अहिले पनि हजारौँ शिक्षकहरू सडकमा छन्। चारैतिरबाट लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ, त्यसको समाधान हामी सबै मिलेर गर्नुपर्छ। यदि हामी आफैँले भ्रष्टाचार गरेका छौँ, लोकतन्त्र र गणतन्त्र विरोधी आचरण गरिरहेकै छौँ भने जनतालाई तिमीहरूले कसरी सम्झाउने? आफ्ना नजिकका व्यक्तिले भ्रष्टाचार गरे पनि कारबाही हुँदैन, तर बाहिरकालाई कारबाही हुने- यो त जनताले देखेकै छन् नि।’

उनले हाल पनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको उल्लेख गर्दै प्रश्न गरे, ‘त्यही हो तिमीहरूले संघीयता ल्याएर बनाएको स्विट्जरल्यान्डजस्तो नेपाल?’

कान्तिपुर संवाददाता

Link copied successfully