निर्घात कुटपिटमा संलग्न चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

वैशाख ११, २०८२

विवेक पोख्रेल

The responsibility of four traffic policemen involved in the beating was removed

काठमाडौं — काठमाडौंको व्यस्त सडकमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न चार प्रहरीको जिम्मेवारी खोस्दै छानबिन सुरु भएको छ । 

भिडियोमा देखिएका चार जना ट्राफिकहरुलाई नै जनसेवाको जिम्मेवारीबाट हटाई छानबिन तथा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार घटना २३ मंसिरमा सुन्धारा आकशे पुलमुनिको हो । भिडियोमा एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । तीमध्ये एक ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको र कागजपत्र भूइँमै फ्यालेर हिँडेका छन् । मोटरसाइकलमा सामान लिएर ती यात्रु आएको प्रहरीले बताएको छ ।

गत माघ पहिलो हप्ता पनि रातको समयमा चितवनको भरतपुर महानगरपालिका-११ केन्द्रीय बस टर्मिनरदेखि आँपटारी जाने सडकमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेलले एक युवकमाथि बुटैबुटले अन्धाधुन्ध आक्रमण गरेका भिडियो सार्वजनिक भएको थियो । कुटपिट गरिरहेको भिडियो ७ माघमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कुटपिट गर्ने भुजेल निलम्बित भएका थिए । प्रहरीले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति नै बनाएको थियो ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully