बुटवल — मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ ।
बुटवल–१४ घर भएका न्यौपानेको शव आज बिहान नेपाल ल्याइएको हो । बिहान ७ बजे नेपाल–भारत सीमा सुनौलीमा प्रशासक, सुरक्षा अधिकारी, जनप्रतिनिध र आफन्तले शव बुझेका छन् ।
२७ वर्षीय युवा सुदीप न्यौपाने आमा, बहिनी र ज्वाइँ लिएर घुम्न पुगेका थिए । बुटवल–१४ बेलभरियाका उनी पछिल्लो ४ वर्षदेखि बुटवल–११ कालिकानगरको होराइजन चोकनजिकै बस्दै आएका थिए ।
बाबु ध्रुव (कौशल) र आमा रीमाबीच सम्बन्धविच्छेद भएपछि ४ वर्षदेखि उनी आमा र बहिनी सुष्मासँगै बस्दै आएका थिए ।
बहिनीको २ वर्षअघि पोखरामा विवाह भएपछि घरमा आमा मात्र भएकाले काठमाडौंमा बीडीएच अध्ययनरत भए पनि सुदीप घर आउजाउ गरिरहन्थे । उनले धरानबाट पब्लिक हेल्थमा स्नातक गरेका थिए । अहिले काठमाडौंमा बीपीएच अध्ययन गर्दै थिए ।
