काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरूपमा असफल भइसकेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार असफल भइसकेको बताएका हुन् ।
सरकारको कुशासन र नालायकीका कारण जनता निराश र आक्रोशित रहेको सापकोटाको भनाइ थियो । उनले यसैबीच प्रतिगामी तत्त्व सलबलाइरहेको पनि बताए । सरकारप्रति नागरिकहरूको आक्रोशले सीमा नाघिसकेको उनको भनाइ थियो । शिक्षक, चिकित्सक, नर्स, लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी आन्दोलित रहेको बताउँदै उनले राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको बताए ।
'जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामी सलबलाइरहेका छन् । यो परिस्थितिमा सरकारप्रति आक्रान्त भइसकेका छन् । सीमा नाघिसकेको छ, सबै सडकमा छन् । शिक्षकहरू त छँदै छन्, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित छन्,' सापकोटाले भने, 'स्थानीय तहका कर्मचारीले धेरै पहिलेदेखि आन्दोलन गरिरहेका छन् । राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको छ । सरकार पूर्णरूपमा फेल भइसकेको छ ।'
विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका माग सम्बोधन गर्न पनि माओवादीले माग गरेको छ । प्रधानमन्त्री केपी ओली शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्नतिर लागिरहेको पनि सापकोटाले बताए ।
