नसर्ने रोगको प्रभाव बढ्नु मानव जीवनका लागि चिन्ता : मुख्यमन्त्री आचार्य

वैशाख १०, २०८२

सन्जु पौडेल

Increasing impact of non-communicable diseases is a concern for human life: Chief Minister Acharya

तिलोत्तमा — क्यान्सर रोगको उपचार तथा सेवा प्रवाहलाई सहज बनाउन रुपन्देहीको बेथरीमा अस्पताल निर्माण गरिने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मायादेवी गाउँपालिका–६, बेथरीमा निर्माण हुने सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गरे ।

अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताए। क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीको उपचारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको जानकारी दिँदै उनले पछिल्लो समय यस्तो प्रकृतिका रोगीहरू बढ्दो भएकाले समस्या थप गम्भीर बन्दै गएको उल्लेख गरे।

बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको भन्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन आफूले प्राथमिकता दिएको बताए। 'प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगका विषयमा संसद्मा निरन्तर आवाज उठाउँदै आएको छु,' उनले भने।

'संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौँ,' उनले थपे, 'म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ। अहिले क्यान्सरलाई जितेर तपाईँहरूको माझमा छु। रोगले च्यापेको बेलामा के के भोग्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। हामी बिरामीको पक्षमा काम गर्छौँ र गरिरहेका छौँ।'

मुख्यमन्त्री आचार्यले सरकारको एकल प्रयासले मात्र उपचार सेवा सबैको पहुँचमा पुर्‍याउन कठिन हुने भन्दै निजी क्षेत्रका प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।

क्यान्सर रोगको उपचार तथा सेवा प्रवाह गर्ने लक्ष्यसहित बेथरीमा अस्पताल निर्माण थालिएको हो। २ बिगाहा ५ कट्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा एक सय शय्याको अस्पताल भवन निर्माण सुरु भएको छ। आगामी डेढ वर्षभित्र ५० शय्याको सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

अस्पतालका संस्थापक सञ्चालक अर्जुन पौडेलका अनुसार यही असारदेखि भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालसँग समन्वय गरेर क्यान्सरको प्राथमिक उपचार र शल्यक्रिया सुरु गरिनेछ। 'हामीले दुई वर्षभित्र १०० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछौँ,' उनले भने, 'यसमा विशेष गरी क्यान्सर सरभाइभर तथा क्यान्सरका कारण परिवारका सदस्य गुमाएका परिवारहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछौँ।'

अस्पतालमा अर्जुन पौडेलसहित विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ र नेपाली व्यवसायीहरूको संयुक्त लगानी रहेको छ। भविष्यमा अन्य सञ्चालक थपेर अस्पताललाई साझा बनाइने उनको भनाइ छ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully