जनकपुरधाम — धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ। सोमबार राति एकै परिवारका चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको ज्यान गएको हो।
धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार गहुँमा प्रयोग गरिने विष खाइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विष सेवनबाट सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको घटनास्थलमै मृत्यु भएको हो।
३० वर्षीया आमा पविता साह गम्भीर अवस्थामा छिन्। उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
