कानुनमा अग्रिम जमानतको प्रावधान राख्ने तयारी

पक्राउ नै गर्नुपर्ने पर्याप्त आधार र प्रमाणबिना प्रतिशोध लिन सरकारले प्रहरीको दुरुपयोग गर्न खोजेमा नागरिकलाई अदालतबाट सुरक्षित गराउन मुलुकी फौजदारी कार्यविधि संहितालाई संशोधन गर्ने तयारी

वैशाख ९, २०८२

राजेश मिश्र

Preparation of provision of anticipatory bail in law

काठमाडौँ — कुनै आरोपमा प्रहरीले पक्राउ गर्नुअगावै व्यक्तिले अदालतबाट अग्रिम जमानत (एन्टिसिपेटरी बेल) का लागि निवेदन दिन सक्ने कानुनी व्यवस्था गर्न लागिएको छ । पक्राउ नै गर्नुपर्ने पर्याप्त आधार र प्रमाण बिना प्रतिशोध लिन सरकारले प्रहरीको दुरुपयोग गर्न खोजेमा नागरिकलाई अदालतबाट सुरक्षित गराउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न थालिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको संहिता संशोधन विधेयकको मस्यौदामा अग्रिम जमानतको प्रस्ताव छ । तर, जघन्य कसुरको आरोप लागेकालाई त्यस्तो सुविधा हुने छैन । जन्मकैद हुने वा १० वर्षभन्दा बढी कैद सजाय हुने कसुर जघन्य अपराधको सूचीमा पर्छन् । यस्ता कसुरका आरोपीसहित विदेशी नागरिक, कुनै अदालतमा मुद्दा विचाराधीन रहेका तथा फौजदारी मुद्दामा पहिला सजाय पाएका व्यक्तिलाई अग्रिम जमानत माग्ने अधिकार हुने छैन । त्यसबाहेकलाई पक्राउ पर्न सक्ने लागेमा वा पक्राउ पुर्जी जारी भएमा वा हिरासतमा राखिएमा अग्रिम जमानत माग्ने अधिकार दिन खोजिएको छ । 

मन्त्रालयको कानुन तर्जुमा महाशाखाका सहसचिव मानबहादुर अर्यालका अनुसार संहिता संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार भइसकेको छ । ‘पहिला सुन अनि मात्रै थुन’ भन्ने ध्येयले कानुनमा संशोधन प्रस्ताव गरिएको उनले बताए । सरोकारवाला निकाय तथा विज्ञको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिइने उनले जनाए । ‘अग्रिम जमानतसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र देशभित्रको आवश्यकतालाई हेरेर त्यस्तो प्रस्ताव गर्न खोजिएको हो,’ अर्यालले भने ।

विभिन्न मुलुकमा चलनमा रहेको अग्रिम जमानतसम्बन्धी व्यवस्था नेपालको हकमा नयाँ हो । निजी क्षेत्रले सरकारसँग पटकपटक अग्रिम जमानतसम्बन्धी कानुनी व्यवस्था माग गर्दै आएका छन् । कुनै आरोप लाग्नासाथ पहिला थुनिहाल्ने अहिलेको कानुनी व्यवस्था सुधार गर्नुपर्ने उनीहरूको माग छ । 

मुलुकी फौजदारी कार्यविधि संहिताको परिच्छेद ७ मा थुनछेक, धरौटी तथा जमानतसम्बन्धी व्यवस्था छ । त्यसैको दफा ६७ मा संशोधन गरेर नयाँ दफा ६७क मा अग्रिम जमानत दिन सकिने प्रावधान थप्ने मन्त्रालयको प्रस्ताव छ । अग्रिम जमानतको निवेदन परेमा अदालतले त्यसबारे तत्कालै निर्णय दिनुपर्नेछ । अदालतले निवेदकलाई लगाइएको वा लगाउने सम्भावना भएको कसुरमा निजको संलग्नताको प्रारम्भिक विश्वसनीयताको आधार नदेखेमा अग्रिम जमानत दिन सक्नेछ । त्यस्तै, थुनामा राखी अनुसन्धान गर्नुपर्ने वस्तुनिष्ठ आधार नभएमा, सम्बन्धित व्यक्तिले प्रमाण संकलन गर्ने कार्यमा हस्तक्षेप गर्ने वा प्रमाण लोप गर्ने सम्भावना नदेखिएमा अदालतले अग्रिम जमानत दिन सक्ने प्रस्ताव छ । 

अदालतबाट अग्रिम जमानत पाएका व्यक्तिले अनुसन्धानका क्रममा सहयोग गर्ने र अनुसन्धान गर्ने निकायले बोलाउँदा उपस्थित हुनुपर्ने, अदालतको अनुमतिबिना देश छोड्न नहुने, अदालतले स्थान हद तोकेको भए त्यो स्थान छोड्न नहुनेलगायतका सर्तहरूको पालना गर्नुपर्नेछ । अभियोगपत्र अदालतमा दर्ता भएको स्थितिमा अग्रिम जमानतको निवेदन दिन मिल्ने छैन । मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार अग्रिम जमानतको हैसियत अदालतबाट थुनछेकको आदेश नभएसम्म कायम रहनेछ । तल्लो अदालतबाट अग्रिम जमानतको आदेश जारी नभएमा पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सकिने सुविधा हुनेछ । अग्रिम जमानत माग भएको निवेदनलाई अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनसरह प्राथमिकता दिई कारबाही र किनारा गर्नुपर्ने मस्यौदामा उल्लेख छ । 

विधेयकको मस्यौदामा जघन्य वा गम्भीर अपराधबाहेक अन्य आरोप लागेका व्यक्तिलाई पहिला हाजिर हुन बोलाउने प्रस्ताव गरिएको छ । तीन वर्षभन्दा बढी दस वर्षसम्म कैद सजाय हुने कसुरलाई संहिताले गम्भीर कसुर मानेको छ । मन्त्रालयको प्रस्तावअनुसार कानुनमा संशोधन भएको अवस्थामा तीन वर्षभन्दा कम सजाय तोकिएको मुद्दाका आरोपीलाई प्रहरीले पहिला हाजिर हुन बोलाउने र अनुपस्थित भएमा मात्र उनका विरुद्ध पक्राउ पुर्जी जारी गरिनेछ ।

कुनै पनि आरोप लाग्नासाथ सम्बन्धितलाई पक्राउ नै गरिहाल्ने अहिलेको व्यवस्थामा सुधारको प्रस्ताव पनि मस्यौदामा गरिएको छ । मुद्दाको अवस्था हेरेर पक्राउ नगरी अनुसन्धान गर्ने पद्धतिको विकास गर्न कानुनमा व्यावहारिक सुधारको आवश्यकता देखेर केही संशोधनको प्रस्ताव गरिएको सहसचिव अर्यालले जनाए । पक्राउ गरिसकेपछि मात्र अनुसन्धान अगाडि बढाउने अहिलेको न्यायिक प्रणालीमा सुधारको आवश्यकता देखिएको उनले बताए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully