सल्यानमा मिनीट्रक दुर्घटना, तीन घाइते

वैशाख ९, २०८२

विप्लव महर्जन

Minitruck accident in Salyan, three injured

सल्यान — सल्यानमा सोमबार राति मिनीट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रोल्पाबाट कपुरकोट बजारतर्फ आउँदै गरेको रा १ ख १८४८ नम्बरको मिनी ट्रक कपुरकोट गाउँपालिका ३ घुम्ती बजार नजिकै दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घाइते हुनेमा कपुरकोट गाउँपालिका–२ खहरेका गाडी चालक वर्ष ३५ तेजबहादुर वली, वर्ष ३५ का वीरबहादुर खत्री र वर्ष २१ का रमेश केसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी कपुरकोटमा रहेको आधारभूत अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि दाङको तुलसिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको र सबैको त्यही उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी गराए । 

मिनीट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक देखि ५ मिटर तल खसेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully