कक्षा १२ को परीक्षाका लागि आवश्यक तयारी गर्न निर्देशन

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Instructions for the necessary preparation for class 12 exams

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। मंगलबार बसेको बोर्डको बैठकले यसअघि तोकिएको मितिमै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षकहरूको आन्दोलनका कारण शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएका थिए, जसले परीक्षाबारे अन्योलता सिर्जना भएको थियो।

तर बोर्डले भने निर्धारित मिति र समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकिसकेका विद्यालयहरूलाई समयमै परीक्षा सञ्चालन गर्न अनुरोध गरिएको बताए ।

साढे पाँच लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्नु पर्ने र परीक्षा समयमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

उहाँले भने, ‘कक्षा १२ को परीक्षालाई हामीले जहाँ–जहाँ परीक्षा केन्द्र तोकिएको छ, त्यहाँ सञ्चालन गर्नुपर्ने निर्णय गरेका छौँ। हरेक विद्यालय र विद्यार्थीको माग पनि समयमै परीक्षा होस् भन्ने छ। आज पनि हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई विद्यालयहरूमा, जहाँ केन्द्र तोकिएको छ, त्यहीँ सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न, परीक्षा सञ्चालन गर्न र सबैसँग पुनः अनुरोध गर्ने निर्णय गरेका छौँ। विद्यार्थीको परीक्षा गम्भीर विषय हो, त्यसैले साढे पाँच लाख विद्यार्थीको परीक्षा सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ।’

अध्यक्ष शर्माले हरेक जिल्लाका परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरूमा आवश्यक तयारी गर्न आग्रह गरिएको पनि बताए । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने छ।

कान्तिपुर संवाददाता

Link copied successfully