१२ वर्षीया बालिकाले जन्म दिएको शिशु अर्कैलाई सुम्पिएर अछाम फर्कियो परिवार

बालिकाले जन्माएको शिशुलाई कानुनी रूपमा धर्मपुत्रीका रूपमा ग्रहण गर्न एक दम्पतीले जिल्ला अदालत कैलालीमा निवेदन दिए पनि अदालतले सो निवेदन नै दर्ता नगरी फर्काइदिएपछि बालिकाका बुबाले आफ्नी नातिनी कुनै औपचारिकता विना अर्कै दम्पतीलाई पाल्न दिएका छन् ।

वैशाख ९, २०८२

मेनुका ढुंगाना

A 12-year-old girl gave birth to a baby and the family returned to Achham

अछाम — अछामको चौरपाटीकी बलात्कृत १२ वर्षीया बालिकाले जन्माएको शिशुलाई बालिकाका बुबाले सम्पर्कमा आएका एक दम्पतीलाई धर्मपुत्रीका रूपमा दिएका छन्। बालिका र उनले जन्माएको शिशुलाई लिएर घर फर्कने अवस्था नरहेको भन्दै उनले धर्मपुत्रीका रूपमा शिशु अर्कैलाई जिम्मा लगाएर छोरी मात्र लिएर घर फर्किएका हुन्।

बालिकाले जन्माएको शिशुलाई कानुनी रूपमा नै एक दम्पतीले धर्मपुत्रीका रूपमा ग्रहण गर्न जिल्ला अदालत कैलालीमा निवेदन दिएका थिए। तर अदालतले सो निवेदन नै दर्ता नगरी फर्काइदिएपछि बालिकाका बुबाले आफ्नी नातिनी कुनै औपचारिकताविना अर्कै दम्पतीलाई पाल्न दिएको बताएका छन्।

जिल्ला अदालतले ती बलात्कृत बालिकाले जन्माएको बच्चा धर्मपुत्री दिन नमिल्ने बताएपछि कैलालीको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट आफ्नै घर अछाम लैजाने भन्दै ती बालिकाका बुबाले संरक्षकका रूपमा बुझेर लगेका थिए। तर उनले छोरीलाई मात्र घर पुर्‍याए। उनले जन्माएको सन्तानलाई कैलालीबाटै अर्काको हातमा थमाइदिए।

बलात्कृत छोरीबाट जन्मिएको सन्तान ल्याएर गाउँ फर्कन सक्ने अवस्था नभएपछि सम्पर्कमा आएका एक दम्पतीलाई दिएर फर्किएको ती बालिकाका बुबाले बताए। ‘नाबालक बलात्कृत छोरीले जन्माएको सन्तानलाई घर ल्याउन सकिनँ। धर्मपुत्री बनाएर लैजान्छु भनेर आएकालाई अदालतले दिन दिएन,’ उनले भने, ‘कसैलाई नसोधी व्यावहारिक कुरा गरेर मैले दिएँ। अदालतले हाम्रो बाध्यता बुझेन।’

छोरीले सन्तान जन्माउनु अगाडि नै गर्भपतन गराइदिन आग्रह गरेको पनि उनले बताए। ‘पहिले २८ हप्तामाथिको गर्भ छ, गर्भपतन गर्न कानुनले दिँदैन भने। अहिले अनेक कारण देखाएर धर्मपुत्री दिन मिल्दैन भने,’ उनले दुखेसो गरे, ‘नाबालक छोरी बलात्कृत भएर सन्तान जन्माएको पीडा त थियो नै, कानुनका नाममा हामीलाई झन् दुःख दिइयो।’

अहिले ११ दिनकी सुत्केरी ती बालिका घर फर्केकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य नरहेको उनकी आमाले बताइन्। ‘फलफूल, माछा, मासु खुवाउनुपर्छ। नानीको स्वास्थ्यमा सुधार हुन समय लाग्छ भनेर डाक्टरले पठाएका थिए,’ बालिकाकी आमाले भनिन्, ‘बिहान, साँझको छाक टार्न मुस्किल छ। बम्बै गएर कमाउने बाटो बन्द भएको छ। अहिले कसैले पनि मतलब गरेका छैनन्। न त अपराधी नै पक्राउ परेको छ।’

बालिकाको परिवारले गत फागुन २ मा उनको पेट सुनिएको देखेपछि जाँच गराउन बयालपाटा अस्पताल लगेपछि मात्र उनी गर्भवती भएको थाहा पाएका थिए। बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ हप्ता माथिको गर्भपतन गराउन नसक्ने बताउँदै पीडित बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी पठाइदिएको थियो। तत्पश्चात् ती बालिकालाई ओसीएमसीकै सुरक्षित आवास गृहमा राखिएको थियो। कैलाली ओसीएमसीको संरक्षणमा रहेकी ती बालिकाले चैत २९ गते सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी थिइन्।

१२ वर्षीया छोरीले सन्तान जन्माएपछि आर्थिक रूपमा निकै कमजोर रहेको उनको परिवारले बच्चालाई साथमा राख्न नसक्ने भन्दै संघसंस्था वा कसैले धर्मपुत्री राख्ने भए दिन तयार रहेको बताएको थियो। सुदूरपश्चिम स्थायी घर भई काठमाडौँ बस्ने दम्पतीले उक्त शिशुलाई ग्रहण गर्न तयार रहेको भन्दै जिल्ला अदालत कैलालीमा निवेदन दिएका थिए। तर अदालतले भने बालिकाको सन्तानलाई धर्मपुत्रीका रूपमा दिन नमिल्ने भन्दै फकाइदिएको थियो। ‘अछामकी १२ वर्षीया बालिकाले जन्माएकी छोरीलाई धर्मपुत्री लिनका लागि एक दम्पती तयार थिए। तर न्यायाधीशले दिन मिल्दैन भनेर निवेदन दर्ता नै नगरी फर्काइदिए,’ स्रोतले भन्यो।

जिल्ला अदालत कैलालीका स्रेस्तादार चेतराज पन्तका अनुसार ६ महिना नपुगेको बच्चाको स्तनपानको अधिकार हेर्दै धर्मपुत्री दिन नसक्ने निर्णय गरिएको हो। ‘६ महिना नपुगेको बच्चालाई धर्मपुत्रीको रूपमा दिँदा उसको स्तनपान गर्न पाउने अधिकारबाट वञ्चित हुने भयो। साथै, धर्मपुत्री ग्रहण गर्न भनेर दाबी पेस गरेको दम्पतीमाथि न्यायाधीशहरू विश्वस्त हुन सक्नुभएन,’ उनले भने, ‘बलात्कारबाट जन्मिएको बच्चा हो। मुद्दा चलिरहेको छ। पछि बलात्कार गर्नेले नै आफ्नो सन्तान हो भनेर स्वीकारेमा के गर्ने भनेर पनि दिन नसकिएको हो।’

उनका अनुसार धर्मपुत्री दिन चाहने पीडित पक्षले वैधानिक रूपमा निवेदन भने दर्ता गरेका थिएनन्। निवेदन आउनु अगाडि नै जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछाने, प्रदीप कुमार उपाध्याय, दीपेन्द्रनाथ योगी र हरिसिंह धामीको सल्लाहमा धर्मपुत्रीको रूपमा दिन नसकिने निर्णय भएको हो।

अदालतबाट धर्मपुत्रीको रूपमा ती बालिकाले जन्माएको सन्तानलाई कानुनी रूपमा दिन नमिलेपछि व्यावहारिक रूपमा एक दम्पतीलाई दिएको कुरा खुल्न आएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए। ‘बच्चा लगेको व्यक्तिले गलत नियतले लिएको अहिलेसम्म देखिँदैन। ती लिने व्यक्तिको परिचय खुल्ने कागजात मागेका छौँ। उनी हाम्रो सम्पर्कमा आइसकेका छन् । बच्चा अहिले काठमाडौँ पुगेको छ,’ उनले भने, ‘लिखित रूपमा दिने र लिने सहमति भएको देखिँदैन। व्यावहारिक रूपमा लिएकाले अदालतको निर्णयको उल्लङ्घन भयो भन्ने अवस्था पनि देखिँदैन ।’

उनका अनुसार बलात्कारका आरोपितलाई पक्राउ गर्न भारतीय प्रहरीसँग अनौपचारिक समन्वय गरिरहे पनि फरार भएकाले ती व्यक्तिलाई नियन्त्रणमा लिन सकिएको छैन ।

आफूलाई मामा नाता पर्ने, एकै घरको अर्को कोठामा बस्ने पुरुषले पटक-पटक बलात्कार गरेको र घरमा भने मार्ने धम्कीसमेत दिएकाले कसैलाई घटनाबारे जानकारी दिन नसकेको बयान ती बालिकाले प्रहरी र परिवारलाई दिएकी छन्। बालिकाको बयानका आधारमा फागुन ४ गते ती पुरुषको नाममा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भइसकेको छ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully