पाँच महिनामा दाहाल पाँचैपटक कोशी पुग्दा प्रधानमन्त्री ओलीको भ्रमण भने पातलिँदो छ, कतिसम्म भने उनी निमन्त्रणा गरिएका कैयौं कार्यक्रममा समेत पुग्न सकिरहेका छैनन्
विराटनगर — सत्ताको केन्द्र काठमाडौं भए पनि पछिल्ला केही समययता पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दौडधुप पूर्वी नेपालमा केन्द्रित छ । जबकि संख्यात्मक रूपमा हेर्दा, माओवादी कोशीमा कमजोर देखिन्छ । प्रदेश सभामा १३ सदस्य, प्रतिनिधिसभामा चार सांसद र १ सय ३७ स्थानीय तहमध्ये १३ वटा प्रमुख पद मात्रै माओवादीको छ । तर गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा कोशीबाट सन्तोषजनक नजिता हात लागेपछि दाहाल सत्ता बहिर्गमनको पीडा भुलेर ‘हौसिन’ थालेका हुन् । त्यसैको परिणाम हुनुपर्छ पाँच महिनामा दाहाल पाँचैपटक विराटनगर ओर्लिसकेका छन् ।
दाहालको पछिल्लो विराटनगर भ्रमण आइतबार विराटनगरमा थियो । माओवादी विराटनगर महानगर कमिटीको सम्मेलन तथा ‘हाम्रो मत’ दैनिकको २२औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर उनी सोही साँझ काठमाडौं फर्किए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दाहालले फागुनमा मात्रै तीनपटक विराटनगर भ्रमण गरेका थिए । फागुन २, ११ र १३ मा । यसअघि माघ ४ मा पनि उनले विराटनगर भ्रमण गरेका थिए । यसअघि फागुन १२ मा झापा आएका दाहालले ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ शुभारम्भ गरेका थिए ।सरकारबाट बाहिरिएपछि दाहाल कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम र पाँचथर जिल्लामा लगातार दौडधुप गरेका छन् ।
पुस १५ मा दक्षिणी झापाको गौरीगन्ज, माघ १४ मा तेह्रथुम–पाँचथर, र फागुन ४ मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेका दाहालले तीव्र राजनीतिक गतिविधिका साथ सरकारविरुद्ध तिखा टिप्पणी गरेका थिए । १५ चैतको घटनापछि भने दाहाल दल र नेताहरुविरुद्ध ‘लोयल’ भएर प्रस्तुत हुन थालेका छन् । माओवादी कोशी प्रदेशका एक नेता भन्छन्, ‘सरकारबाट बाहिरिएपछि अध्यक्ष दाहाल प्रदेशकेन्द्रित भएका छन्, जसलाई हामीले पार्टी सुदृढीकरण अभियानका रूपमा लिएका छौं ।’
दाहालभन्दा ठिक विपरीत ओली भने पछिल्लो समय कोशी प्रदेशमा कमै सक्रिय देखिएका छन् । फागुनसम्म जम्मा तीनपटक विराटनगर ओर्लेका उनी औपचारिक कार्यक्रमबाहेक अन्य राजनीतिक वा सांगठनिक कार्यक्रमहरूमा अनुपस्थित रहे । फागुन २७ मा उनले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह र कोशी प्रदेशसभालाई सम्वोधन गर्न छोटो समय विराटनगर आएका थिए । त्यसयता भने उनको कोशी आगमन पातलिँदो छ ।
हालका केही महिनामा विराटनगरसहितका प्रमुख कार्यक्रममा उनी अनुपस्थित रहे । प्रेस चौतारीको केन्द्रीय महाधिवेशनदेखि विराट एक्सपोसम्म उनी निम्त्याइए तर, आएनन् । कोशी प्रदेश सरकारले गत चैत २६ मा तेह्रथुमको तीनजुरे-मिल्के-जलजले क्षेत्रबाट आरम्भ गरेको पर्यटन वर्षमा ओली आउन सकेनन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यक्रम उद्घाटन गरेका थिए । एमाले मोरङको जिल्ला अधिवेशनमा पनि उनलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो । तर, आएनन् ।
वैशाख १७–१८ गते आयोजना हुने पहिलो प्रदेश लगानी सम्मेलनमा पनि उनलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ । तर, उनी आउने या नआउने टुंगो छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘प्रधानमन्त्रीज्यु उद्घाटन या समापन दुईमध्ये एक दिन आउने सम्भावना छ ।’
प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यक्रममा भने सकभर सहभागी हुन्छन् । २३ मंसिरमा झापा ओर्लिएका उनी गृह जिल्लाका विभिन्न सभा, समारोहमा सहभागी बने । उनले त्यसैबेला हो दमक–३, दापगाछीस्थित १८ तले ‘भ्यु टावर’ उद्घाटन गरेको । तर उद्घाटन भएको ५ महिना बितिसक्दा पनि टावर सञ्चालन हुन सकेको छैन ।
पछिल्लो समय ३० चैतमा ओली गृहनगर दमकमा आयोजित जागरणसभालाई सम्बोधन गर्न आएका थिए । त्यही मेसोमा उनले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्न पनि भ्याए ।
कोशी प्रदेश अहिले दुई शीर्ष नेता दाहाल र ओलीबीचको दुरी र दृष्टिकोणको साक्षी बन्दै छ । एकातर्फ दाहाल सडकदेखि सभा हलसम्म देखिने प्रयासमा छन् भने ओली आफ्नै ‘गढ’मा समेत सावधानीपूर्वक पाइला चालिरहेका छन् ।
पूर्वमा प्रधानमन्त्री ओली मात्रै होइन सिंगो एमाले नै पहिचानवादीहरुको निसानामा छ । आन्दोलनकारीले एमालेलाई ‘पहिचान विरोधी’ को संज्ञा पनि दिँदै आएका छन् । ५ वैशाखमा निर्वाचन क्षेत्र पुगेका प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईविरुद्ध ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नारावाजी गरेर विरोध गरेका थिए ।
लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवमा भाग लिएर फर्किनुअघि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालय गएका उनलाई आन्दोलनकारीले घेरा हालेका थिए । प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएर सांसद भट्टराईलाई सुरक्षा दिनुपरेको थियो ।
एमाले निकट एक स्रोत भन्छ, ‘नो कोशी’ र ‘नो केबलकार’ जस्तो पहिचानवादी आन्दोलनका कारण अध्यक्ष ओलीलाई मात्रै होइन समग्र पार्टीका नेता कार्यकर्तालाई नै पूर्व भ्रमणमा असहज भइरहेको छ ।'
कोशी प्रदेश ओलीको गृह प्रदेश भए पनि झापा बाहेकका अन्य जिल्लामा उनको प्रभाव कमजोर बन्न थालेको चर्चा सुरु हुन थालेको छ । मोरङ एमालेको पछिल्लो दुई निर्वाचनको नतिजाले उनी मोरङमा अब साँच्चै कमजोर बन्दै गएका हुन् त ? भन्ने प्रश्नमाथि थप आशंका उब्जाएको छ । एमालेभित्रकै असन्तुष्ट मानिने विनोद ढकालजस्ता नेताहरुको प्रभावशाली उदयले ओलीको पकड खुकुलिँदै गएको संकेत गर्छ । जिल्ला र महानगर अधिवेशनमा ओली इतरका नेताहरुले ‘क्लिनस्वीप’ गरेका थिए ।
पहिचान राजनीतिमा चासो
पछिल्लो समय ‘कोशी नामकरण’ र मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधजस्ता मुद्दामा माओवादी खुला रूपमा अगाडि आएको छ । केही समयअघि माओवादीका १३ सांसदहरुको समेत कोशी प्रदेश बनाउने विषयमा मत जाहेर गरेका थिए । तर, अहिले भने माओवादी पहिचानवादीसँगै छ । पूर्व क्षेत्रसँगको दाहालको अगाध प्रेमलाई महत्वका साथ हेरिएको छ ।
दाहाल आफैंले मुक्कुमलुङमा राज्यले बल प्रयोग गरे आन्दोलन भड्कने चेतावनी दिँदै आएका छन् । त्यस्तै, झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालाको नाम ‘मदन भण्डारी’ राख्ने प्रस्तावप्रति पनि उनले असहमति जनाएका थिए । दाहालको अभिव्यक्ति र उनको निरन्तरको कोशी भ्रमणलाई पार्टीका कार्यकर्ताहरुले अध्यक्षले कोशी रणनीतिको रुपमा बुझिरहेका छन् भने एमाले नेताहरुले यसलाई दाहालले चार्तुयका रुपमा बुझिरहेका छन् ।
