‘अरु बेला सडक सडक डुलेर झन्डा बेच्नुपर्छ । आन्दोलन र राष्ट्रिय खेलहरु भएका बेलामा एकै ठाउँमा बसेर सजिलै हजारौं रुपैयाँको झन्डा बिक्री हुन्छ’
काठमाडौँ — काठमाडौंको बिजुली बजारको एक छेउमा आइतबार बिहानैदेखि राष्ट्रिय झन्डा बोकेर उभिएकी थिइन्, सरस्वती रावत । एकैछिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन हुने खबर उनलाई पहिल्यै थियो । सरस्वती राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छे होइनन् । न त उनलाई यस्ता कुनै राजनीतिक कुरासँग नै चासो छ । बरु उनी त आन्दोलनको यही मेसोमा झन्डा बेच्न सकिन्छ कि भनेर आइपुगेकी थिइन् । भनिन्, ‘झन्डा नबेचे कसरी पेट पाल्नु ।’
राप्रपाले गत चैत २६ मा बल्खुमा आयोजना गरेको आमसभामा पनि उनी यसैगरी झन्डा बेच्न पुगेकी थिइन् । अनि त्यही दिन उनले आजको का प्रदर्शनीको खबर पाएकी थिइन् । एक वर्षदेखि यसैगरी अनेकन आन्दोलन र विरोध प्रदर्शनमा झन्डा बेच्न थालेकी रावतले सुनाइन्, रावतले भनिन्, ‘अरु बेला सडक सडक डुलेर झन्डा बेच्नुपर्छ । आन्दोलन र राष्ट्रिय खेलहरु भएका बेलामा एकै ठाउँमा बसेर सजिलै हजारौं रुपैयाँको झन्डा बिक्री हुन्छ ।’
रावतले बसन्तपुर बजार क्षेत्रको होलसेल पसलबाट झन्डा किनेर ल्याउँछिन् । आन्दोलन भएका दिन दिनभर पशुपति क्षेत्र, माछापोखरी, बसपार्क लगायतका विभिन्न ठाउँमा पुगेर बेच्छिन् । ‘अरु बेला धेरै हिँड्नुपर्छ राष्ट्रिय खेल हुँदा र आन्दोलन हुँदा सजिलै झन्डा बिक्री हुन्छ ।, ’रावतले खुशीको भावमा सुनाइन्, ‘मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगिता र राप्रापाको बल्खुको आन्दोलनमा एकै दिनमा १६ हजार रुपैयाँको झन्डा बिक्री भयो ।’
रावत आज पजि ६० वटा झन्डा र झन्डा राख्ने लौरीसहित सडकमा थिइन् । प्रतिगोटा १ सय ५० देखि ७ सय रुपैयाँ पर्नेसम्मका झन्डा उनले बेच्न ल्याएकी थिइन् ।
झन्डा बेच्ने कामबारे सुरुमा उनलाई गाउँका साथीहरुले सुनाएका थिए । सुरक्षा गार्डको काम गर्ने श्रीमान्को कमाईबाट मात्रै चार वर्षकी छोरी सहितको परिवार पाल्न सकिन्न भन्ने निष्कर्षमा पुगेपछि उनी आफै कमाउन कस्सिएकी थिइन् । भन्छिन्, ‘अहिले त मेरो कमाइले नै घर खर्च चल्छ ।’
उनले गत हप्ता मात्र झन्डा बेचेको पैसाले १८ हजारको मोबाइल किनेको खबरदेखि सहरमा आफ्नै घर बनाउने सपनासम्मका कुरा सुनाइन् । अनि भनिन्, ‘अहिले श्रीमान्काे र मेरो घर खर्चबाट बचेको पैसा बैंकमा बचत गरेका छौं ।’
