विराटनगर — माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको देखिएको बताएका छन् । 'मिल्न त खोजियो, मिलेर जान बल गरेकै हो । सुशासन, न्याय र आर्थिक विकासको एजेन्डा समेटेर अघि जान खोज्या हो । तर फेरि पनि 'समथिङ रङ' छ भन्ने देखियो,' उनले भने ।
गणतन्त्रवादीले आत्मसमीक्षा गर्ने बेला आएको भन्दै उनले त्यसो नगर्ने हो भने भावनाले मात्रै गन्तव्यमा नपुगिने पटकपटक पुष्टि भएको बताए । पार्टीहरु अलिअलि रोगी भएकै कारण उपचार आवश्यक रहेको पनि उनले स्वीकार गरे ।
गणतन्त्रविरुद्ध भइरहेका विरोधका स्वरप्रति लक्षित गर्दै दाहालले कुन आन्दोलन हो, कुन अपराध हो कुरा जनताले छुट्याउनुपर्ने बताए 'तानाशाहीतिर फर्किन गरिएको कुरा आन्दोलन होइन, लोकतन्त्रविरुद्ध गरिएको चालबाजी मात्रै हो', दाहालले भने, 'के आन्दोलन हो, के होइन, कम्तीमा जनताले बुझ्नुपर्यो ।'
दाहालले संविधानको गम्भीर समीक्षा आवश्यक गरेको बताए । एमाले-कांग्रेसले गठबन्धन गर्दैगर्दा संविधान संशोधनको कुरा उठाए पनि अहिले त्यो हराएको उनको भनाइ थियो । 'अब समय आएको छ, संविधानको गम्भीर समीक्षा गरौं,' दाहालले भने,'यो कुनै आन्दोलन र विरोधका कारण भने होइन ।' उनले राजनीतिक स्थायित्वका लागि पनि संविधानको गम्भीर समीक्षा आवश्यक रहेको बताए । निर्वाचन प्रणाली र शासकीय स्वरुपमाथि समीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
'संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान १० वर्ष कार्यान्वयनमा लैजाने अनि त्यसपछि समग्र समीक्षा गर्ने र जनभावनाअनुसार विकसित गर्ने भन्ने थियो,' आइतबार हाम्रो मत दैनिक विराटनगरको २२ औं वार्षिकोत्सव अवसरमा उनले भने, 'त्यहीअनुरुप संविधानको गम्भीर समीक्षा जरुरी छ ।' उनले त्यसका आधारमा संशोधनको खाका तयार पार्न दलहरुलाई आह्वान गरे ।
