भट्टराईमाथि दुर्व्यवहार भएकामा एमालेको आपत्ति, संलग्नलाई कारबाही गर्ने युवा संघको चेतावनी

वैशाख ६, २०८२

आनन्द गौतम

UML's objection to abuse of Bhattarai, warning of Yuva Sangh to take action against those involved

ताप्लेजुङ — एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि दुर्व्यवहार भएको भन्दै एमाले ताप्लेजुङले आपत्ति जनाएको छ । दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पनि उसले माग गरेको छ । 

भट्टराईउपर गालीगलौज र अराजक क्रियाकलाप गरिएको भन्दै विज्ञप्तिमार्फत एमालेले भर्त्सना तथा खेद प्रकट गरेको छ । एमाले जिल्ला कमिटी ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यस्ता अराजक गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याउन मागसमेत गर्दछ ।’ 

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ ताप्लेजुङले सरकार, प्रहरी प्रशासन मूकदर्शक बने युवा संघ आफैंले बाध्य भई कारबाही गर्ने चेतावनी पनि दिएको छ । संयोजक मनिक तुम्बाहाम्फे र सहसंयोजक डेभिड लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रमा आफ्नो विचार राख्ने र स्वतन्त्र अभिव्यक्ति दिने कानुनी अधिकार सबै नागरिकमा भएको तर अराजक केही विकासविरोधी तत्वले हिरक महोत्सवजस्तो महत्वपूर्ण कार्यक्रममा आएका आफ्ना नेतामाथि दुर्व्यवहार गरेको भन्दै उसले भर्त्सना गरेको छ । 

भट्टराईले भने कसैबाट गराइएको घटनाका रुपमा लिएका छन् । शुक्रबारको घटनाप्रति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह, विवेकले काम गरौं । प्रायोजकहरुको हतियार नबनौं । सामाजिक एकता र सद्धभाब नबिगारौं ।’

आयोजकले भने घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।फक्ताङलुङ गाउापालिका-६ लेलेपमा जारी कञ्चनजंघा हिरक महोत्सव उद्वघाटनपछि शुक्रबार भट्टराईमाथि दुर्व्यवहार भएको थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully