पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको समानान्तर दौड
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ नवलपरासी, रुपन्देही, कपिलवस्तुको बुधबार, बिहीबार र शुक्रबारको कार्यक्रमको अग्रपंक्तिमा देखिए, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ।
दाहालको तीनदिने बिहानी हिँडाइमा पार्टीको सुरक्षा दस्ता पनि पुनको निर्देशनमा तयार भए । दाहालसहित नेताको बिहानी हिँडाइमा ‘अघिअघि लाल दस्ता’ सँगै हाफपाइन्टमा देखिए पुन । नेपाल प्रहरीको सुरक्षालाई मद्दत हुने गरी सुरक्षा दस्ता बनाइएको थियो । पूर्वलडाकू प्रमुखसमेत रहेका पुनलाई हालै पार्टीको उपाध्यक्षमा मनोनीत गरेपछि उनी दाहालसँगै देखिन थालेका छन् । उनको सक्रियतासँगै माओवादीभित्र दाहालको सारथिबारे चर्चा हुन थालेको छ ।
पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउन नहुनेमा पार्टीभित्र विवाद भए पनि अध्यक्ष दाहालले उनलाई उपाध्यक्षमा मनोनीत गरे । दशवर्षे माओवादी युद्धमा पुन माओवादी सेनाका अग्रमोर्चाका कमान्डर थिए । दाहाल माओवादी सेनाका सुप्रिम कमान्डर भएका बेला डेपुटी कमान्डरहरूमा पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनाल थिए । डेपुटी कमान्डरमध्ये सबैभन्दा उच्च पद उपराष्ट्रपति हुने नन्दबहादुर पुन हुन् । उनी दुई कार्यकाल मुलुकको दोस्रो ठूलो पद उपराष्ट्रपति भइसकेका छन् । अरु तीन डेपुटी कमान्डर पुन, शर्मा र खनाल मन्त्री भए ।
फागुन १२ मा झापाको कचनकवलबाट दाहालले पुन र शर्मालाई दायाँबायाँ लगाएर तराई मधेश जागरण अभियान सुरु गरेका थिए । उनले अभियान सुरु गरेको दिनको बिहानी हिँडाइमा पुन र शर्माको काँधमा हात राखेर तस्बिरसमेत खिचाए । त्यो तस्बिर सार्वजिनक भएपछि दाहालका मुख्य सारथl पुन र शर्माको रूपमा अर्थ लगाइयो । आफ्ना दुई हात पुन र शर्माको काँधमा राखेर दाहालले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु गरेका थिए ।
तर लुम्बिनी प्रदेशसम्म आइपुग्दा अभियानको अग्रमोर्चामा पूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष पुन देखिएका छन् । अर्का उपाध्यक्ष अग्नि सापकोटा अभियानका क्रममा छुटेका छैनन् । तराई मधेश अभियानमा उपमहासचिव पुन र शर्मा खासै देखिएका छैनन् । यो दृश्यले दाहालका मुख्य सारथि को ? भन्ने पार्टीभित्र चर्चा हुन थालेको छ ।
पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गर्नेबेला वर्षमान र जनार्दनको खासै अहमति देखिएन । दशवर्षे सशस्त्र युद्धका क्रममा तीनजना निकट सहयोद्दा भएकाले पुन सक्रिय राजनीतिमा आउँदा राम्रै हुने सुझाव दाहाललाई दिएका थिए । पूर्वउपराष्ट्रपति पुनलाई हाल उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । पूर्वउपराष्ट्रपति पुन २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार भए पनि पराजित भएका थिए । त्यसपछि उनी उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।
तत्कालीन उपराष्ट्रपति पुनको कार्यकाल २०७९ चैत ५ मा सकिएको थियो । आफ्नो कार्यकाल सकिएको तीन वर्षपछि पुन माओवादीको अग्रमोर्चामा देखिएका छन् । उनले सक्रियतासँगै माओवादीमा लडाकुशैली देखिन थालेको छ । हुलाकी राजमार्ग केन्द्रित राजनीतिक अभियानमा माओवादीका लाल दस्ताले सुरक्षा दिन थालेका छन् । यो पुनकै डिजाइनमा बनेको दस्ता हो ।
पूर्वउपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष पुनले सक्रिय राजनीतिमा आएपछि आफू र कार्यकर्तामा उत्साह पैदा भएको बताए । ‘सक्रिय राजनीतिमा आएपछि उत्साहको वातावरण छ,’ उनले शुक्रबार इकान्तिपुरसँग भने, ‘अध्यक्षले नेतृत्व गरेको राजनीतिक अभियानमा महत्त्वपूर्ण सारथि बन्न पाउँदा खुसी लागेको छ ।’
संविधान र कानुनले नछेकेको र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफू राजनीतिमा आउने निर्णय गरेको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमाथि आक्रमण थालेपछि सक्रिय राजनीतिमा आउने निष्कर्षमा पुगेको हुँ,’ पूर्वउपराष्ट्रपति पुनले केही दिनअघि भनेका थिए, ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधान र कानुनले छेकेको छैन ।’
सक्रिय राजनीतिमा आउन पुनको चाहना छँदै थियो । उनलाई सक्रिय राजनीतिमा ल्याउन त्योभन्दा बढी आवश्यकता दाहालले ठाने । पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याउँदा दाहालले दुईवटा उद्देश्य राखेको देखिन्छ । पहिलो, उत्तराधिकारीको लागि वर्षमान पुन र जनार्दन शर्माले प्रतिस्पर्धा गरिरहेका बेला नन्दबहादुरलाई विकल्पको रूपमा तयार पार्ने । दोस्रो, पार्टीभित्र आफ्नो पक्षमा अंकगणित बलियो बनाउन पदाधिकारीमा एक ‘एस म्यान’ थप्नु ।
पछिल्लो समय दाहालको उत्तराधिकारीको प्रतिस्पर्धामा मुख्यगरी उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा अघि सरेका छन् । दोस्रो पुस्ताका यी दुई प्रभावशाली नेता माओवादीको गत महाधिवेशनमा महासचिवको प्रतिस्पर्धामा थिए । तर दाहालले देव गुरुङलाई महासचिव बनाएपछि पुन र शर्मा उपमहासचिव पदमा सीमित भएका थिए । त्यसपछि पुन र शर्माले दाहाललाई भेटेरै असन्तुष्टि जनाएका थिए ।
अघिल्लो सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुनलाई अर्थमन्त्री बनाएर उनलाई आफ्नो हातमा लिए । तर शर्माले भने त्यतिबेला माओवादी स्थायी समिति बैठकमा युवामा नेतृत्व हस्तान्तरण हुनुपर्ने, पार्टी मुख्य नेतृत्वको कार्यशैलीको चर्को आलोचना गर्दै लिखित मत राखे । त्यसपछि दाहाल र शर्माबीच दूरी झन् बढ्यो । मुख्यगरी शर्माले उठाएका मुद्दाबारे पार्टीको सातै प्रदेशमा छलफलसमेत भयो । तर दाहाल र शर्माबीच समबन्ध सुधार भएन । त्यसबेला अर्थमन्त्री भएका वर्षमान पुन दाहालका सारथिका रुपमा अघि सरे । हाल पनि उनी आफू ओझेलमा परेर पनि दाहाललाई नजिकबाट सघाउँदै आएका छन् ।
दाहाल र शर्माबीच यति दूरी बढेको थियो कि त्यसबेला उनलाई बागमती प्रदेशको इञ्चार्जबाट हटाइयो । दाहालको सचिवालयबाट शर्माले माओवादी फुटाउन लागेको हल्ला चलाइएको उनले सार्वजनिक रूपमा बताएका थिए । तर पुस तेस्रो साता बसेको पछिल्लो स्थायी समिति बैठकसम्म आइपुग्दा दाहाल र शर्माबीच आन्तरिक सहमति बन्यो । शर्मालाई संगठन विभाग प्रमुखको जिम्मा दिइयो । हाल उनी संगठन विभागको प्रमुखको हैसियतले पार्टी पुनर्निर्माणमा लागेका छन् । अर्का उमहासचिव वर्षमान पुनलाई आर्थिक विभाग र केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ । बाहिर छताछुल्ल देखिएको विवादमा साम्य भएको छ ।
लडाकु स्वभावका पूर्वउपराष्ट्रपति पुन दाहालका ‘एस म्यान’ हुन् । सशस्त्र युद्धको सुरुदेखि नै रोल्पाबाट लडाइँमा होमिएका उनले हालसम्म दाहालका हरेक कदममा साथ दिँदै आएका छन् । पछिल्लो समय उनको सक्रियतासँगै माओवादी अध्यक्ष दाहालको मुख्य सारथि को ? भन्ने प्रश्न उठ्न थालेको छ । दाहालले वर्षमान र पुनलाई सन्तुलनमा राख्न नन्दबहादुर पुनलाई अघि सारेको चर्चा पनि माओवादीभित्र हुन थालेको छ । यसअघि माओवादीभित्र दाहालको उत्तराधिकारीका रूपमा वर्षमान र जनार्दनको दौड भइरहेको बेला नन्दबहादुर पनि मिसिएका छन् । तर २०४५ सालदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहाल सक्रिय रहेसम्म पूर्व डेपुटी कमान्डर नन्दबहादुर, वर्षमान र जनार्दनको पालो आउन मुश्किल छ । दाहालले आफ्नो अनुकूल तीन जनालाई पालैपालो सारथि बनाएर उपयोगको नीति लिने देखिन्छ
'अध्यक्षको सारथि बन्न पाउँदा खुसी छु'
पूर्वउपराष्ट्रपति एवं मओवादी उपाध्यक्ष पुन
सक्रिय राजनीतिमा आइसकेपछि माओवादीको राजनीतिक अभियानमा हिँडेको देखियो, कस्तो लागेको छ ?
म संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि सक्रिय राजनीतिमा आउने निर्णयमा पुगेको थिएँ । पार्टीले मलाई जिम्मा दिएपछि पुनः सक्रिय रूपमा राजनीतिमा आएँ । पार्टीर्को तराई मधेश जागरण अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको छ । म र आम कार्यकर्तामा उत्साह थपेको महसुस भएको छ ।
अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहालको अघि र पछि देखिन भयो । लाल सुरक्षा दस्तासहित अध्यक्षसँगै हिँड्दा उहाँको सारथि जस्तो देखियो भयो नि ?
जनयुद्धका बेला अध्यक्ष जनमुक्ति सेनाको सुप्रिम कमान्डर र म डेपुटी कमान्डर थिएँ । दुई कार्यकाल म उपराष्ट्रपति पदमा निर्वाचित भएँ । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि म पुनः सक्रिय राजनीतिमा सहभागी भएको छु । म पहिले अध्यक्षको सारथि थिएँ र अहिले पनि सारथि बन्न पाउँदा खुसी लागेको छ ।
आगामी दिनमा के गर्ने योजना छ ?
म पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने राजनीतिक अभियानमा सक्रिय छु । आगामी दिन पार्टीका कार्ययोजना अघि बनाउने मेरो काम हुनेछ ।
