यकिन छैन बचतकर्ताको संख्या र बचत रकम
लुम्बिनी — बुटवल–११, माझगाउँकी पिया गहतराजलाई अहिले पर्नु पिर परेको छ । केही समय चटपटे बेचेर जिविका चलाइरहेकी उनलाई स्थानीय टोल विकास समितिले ठेला राख्न नदिएपछि व्यवसाय बन्द भयो । श्रीमानले बसपार्कमा गाडी बनाउने काम गर्छन् ।
एक सन्तानकी आमा उनले श्रीमानले घर खर्चका लागि दिने गरेको पैसाबाट अलिअलि छुट्टाएर बुटवल–११ देवीनगरको सनराईज बहुउद्धेशीय सहकारी संस्थामा बचत गरेकी थिइन् । उनले जम्मा गरेको पैसा अब उनले पाउने/नपाउने भन्ने चिन्ता परेको छ ।
नयाँ वर्ष २०८२ को सुरुवातसँगै उक्त सहकारीका पदाधिकारी फरार भएसँगै सूचना टाँस गरेर सहकारी बन्द भएको थाह पाएपछि उनको निद्रा हराएको छ । ‘१ सय को मासु पनि नकिनेर मैले जम्मा गरेकी थिएँ । ३ वटा खातामा गरि ५५ हजार थियो, बर्बाद भयो,’ उनले भनिन् ।
टिनको छाप्रो लगाएको घरमा भाडामा बस्छिन् । ४ हजार ५ सय रुपैयाँ मासिक भाडा लाग्छ । २ हजारको चामल किन्छिन् । २ हजारको ग्यास किन्नुपर्ने उनले बताइन् । एकैपटक पैसा चाहिँदा आफुसँग हुँदैन भनेर छिमेकी सबैले बचत गरेको देखेर बुढालाई नटेरीकन बचत गरेको रकम ठगिएपछि गहतराजले केही मेसो नपाएको दुखेसो गरिन् । ‘मैले के गर्ने होला ? छोरालाई भर्ना गर्ने भनेको यो वर्ष, पैसा सुको छैन, निकालेर काम चलाउँला भनेको त भागेछन्,’ उनले भनिन् ।
आफुले अघिपछि पनि पैसा निकाल्ने क्रममा धेरै दिन लगाइदिने, आनाकानी गर्ने गरेको उनले बताइन् । ‘कर्मचारीलाई थाहा थियो होला । किन भनिदिएनन् ?’ उनले भनिन्, ‘सबै मिलेर खाए हाम्रो पैसा, हामी गरिब मर्ने भयौं ।’
बुटवल–११ कै मझुवा बस्ने विमला थापाले नातिनी यासी थापाको नाममा बचत खाता खोलिदिएकी थिइन् । उनले १३ वर्ष भयो स्थानीय एक मसला उद्योगमा काम गर्न थालेको । त्यही उद्योग वरपरका पसलमा दैनिक बचत उठाउन आएका कर्मचारीले मनाएपछि उनले पनि सनराइज सहकारीमा जम्मा गर्न थालेकी थिइन् । ‘नातिनीको बिमा गरिदिन हुन्छ भनेर जम्मा गरेको मेरो पैसा गयो,’ उनले भनिन्, ‘पैसा देख्दा जम्मा ३० हजार थियो, तर मैले त काममा खाजा समेत नखाएर बचाएकी थिएँ । श्रीमान वृद्ध भइसकेकाले काम गर्न सक्दैनन् ।’
घरको खर्च चलाउन आफुले काम गरेपनि केही समय यता काममा आउन नपाएको उनले बताइन् । ‘अहिले काम त्यति छैन भनेर आउनु पर्दैन भनेका छन्,’ उनले भनिन्, ‘निकालेर बिमामा राखिदिउँला भनेथे । निकाल्न चेक काटेर पनि लगें । तर दिएनन् ।’ गत चैतको २३ गतेसम्म उनले बचत दिएको पासबुकमा उल्लेख छ । यसअघि एकपटक ३० हजार निकालेकी उनले त्यस यता जम्मा मात्रै गरेकी थिइन् । ‘कहिले १ सय, कहिले २ सय गरेर दिएको पैसा हो, फिर्ता पाम्ला कि नाई ?’ गहभरि आँसु पारेर उनी भुइँमा थचक्कै बसिन् ।
अहिले यस्तै पीडाबाट गुज्रिएका छन् सनराईजमा बचत गरेका बचतकर्ता । उनीहरुले नयाँ वर्षसँगै जम्मा भएको रकमबाट केही न केही गर्ने भनेर सपना बुन्दाबुन्दै पैसा नै हराएको छ । दैनिक उनीहरुको दैलोमै पुगेर बचत उठाउने भएपछि पैसा जम्मा गर्न सहज मानेका थिए ।
दर्ता भएको सहकारी रहेछ, सबैले जम्मा गरेको देखेर आफु पनि सदस्य भएको पण्डित विष्णु भट्टराईले सुनाए । उनी माझगाउँमा रहेको मन्दिरमा पुजारीको काम गर्छन् । घर छैन । त्यहीं बस्छन् । छिमेकका अधिकांशले सनराईज सहकारीमा जम्मा गरेको देखेर उनले घर बनाउने सपनासहित रकम जम्मा गर्न थालेका थिए ।
‘सहकारीमा ७ महिना अघिदेखि बचत गरेको थिएँ,’ उनले भने, ‘१ लाख पहिले निकालेको थिएँ, ४ लाख अझै छ ।’ विष्णुले पैसा निकाल्न खोजेपनि पुजाआजामा व्यस्त भएकाले सहकारीसम्म आइरहने समय पाएका थिएनन् । ‘पैसा मागेको थिएँ । तर कर्मचारीले भोलि, पर्सी भन्दै टारेका थिए,’ उनले भने ।
टार्दाटार्दै सहकारीका मानिस फरार भए भन्ने सुनेका उनले सरकार बलियो नहुंदाको नतिजा आफुहरुले यस्तो भोग्नुपरेको बताए । ‘यत्तिको जानकारी पाए लगत्तै सम्बन्धित निकायले उनीहरुलाई खोजतलास गरिहाल्नुपर्थ्यो,’ उनले भने, ‘निवेदन दिने, प्रक्रिया गर्ने गर्दासम्म उनीहरु कहाँ पुग्छन्, न पैसा पाइन्छ, न सुनुवाई हुन्छ ।’ पक्राउ नै परेपनि रकम फिर्ता गराइदिन सक्ने आंट सरकारको नदेखेको उनले बताए ।
स्थानीय एलीसा प्रजाले चाउमिन र चिया विक्रि गर्ने सानो पसल चलाउँछिन् । उनका एकजना स्टाफ र आफ्नो सहित १ लाख १० हजार रुपैयाँ सहकारीमा जम्मा थियो । ‘सामान किन्न, भाडा तिर्न सहज भएको थियो, त्यसैले जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘अब मैले व्यवसाय कसरी धान्ने ? मेरो पसल चलाउने पैसा नै डुब्यो ।’ उनले पिरको भारी बोकेर हिँडेको र रुन मात्रै नसकेको बताइन् ।
मान्छेका अगाडि रुँदा ‘किन राखिथिस् ?’ भनेर उल्टै जवाफ पाउने भन्दै उनले जिवनमा दुःख गर्नेलाई नै हरेक समस्या पर्ने बताइन् । एलीसाले आफ्नो सानो व्यापारबाट चलेको जिवन कसरी चलाउने भन्ने बारे नै सोच्न नसकेको बताइन् । ‘घर जान पनि मन छैन,’ उनले भनिन्, ‘यहाँ ढुकेर बसेको ३ दिन भयो, पासबुक र नागरिकताको फोटोकपी सबैले एक ठाउँ जम्मा गरेर निवेदन दिने कुरा भएको छ ।’ रकम फिर्ता पाउने कुरा त अब सोच्नै पर्दैन कि जस्तो लागेको उनले बताइन्
सहकारी संचालक फरार भएपछि बचतकर्ता घटनापछि ईलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए । प्रहरीले पक्राउ प्रक्रिया या कुनैपनि कदम चाल्नुअघि सहकारी पीडीतको निवेदन प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएपछि सम्बन्धित निकायले आफूहरुलाई प्रक्रियागत रुपमा अघि बढ्न पत्राचार गर्ने र सोही अनुसार आफूहरुले काम गर्ने जानकारी दियो । त्यसपछि पीडितले शुक्रबार सहकारी परिसरमा जम्मा भई पासबुक र नागरिकताको फोटोकपी जम्मा गररिरहेका थिए । उनीहरुले दाङ गएर निवेदन बुझाउने र त्यसपश्चात प्रक्रियामा अघि बढ्ने बताए ।
बन्द रहेको सहरकारीको कार्यालय अगाडि जम्मा भएका पीडितमध्येका अगुवा दीपकराज डोटेलले सबै पीडितको नाम, फोन नम्बर टिपेर फोन गर्ने, बोलाउने र यसरी प्रकृयामा जाने बताइरहेका थिए । डोटेलको पनि उक्त सहकारीमा ३ लाख रुपैयाँ फसेको छ । उनी फोटोकपी पसल चलाउँछन् । बुटवल–१३ बेलबासमा रहेको उनको पसलमै पुगेर पैसा संकलन गर्ने भएपछि सजिलो मानेर रकम जम्मा गरेको उनले बताए ।
यसअघि सुप्रिम बचतमा समेत पैसा राखेको र फस्नु अघि नै बच्न सफल भएपनि यता पैसा डुबेको उनले बताए । डोटेलले पिडामा भए पनि केही उपाय निस्कन्छ कि, दोषीलाई छोड्न नहुने भन्दै आफुहरु तातेको बताए । सुरुको दिनमा सबै पीडित आएको भए पनि विस्तारै कम मानिस आउन थालेपछि आफूले फोन गर्दै बोलाइरहेको उनले बताए ।
मैनाबगरकी बेली आचार्यले बिरामी रहेका श्रीमानको औषधी उपचारमा सघाउ पुग्छ भनी रकम जम्मा गरेकी थिइन् । उनकी छोरी पनि बिरामी छिन् । बेलीले किराना पसलबाट पैसा जम्मा गरेर सहकारीमा रोखेको ३ वर्ष भएको थियो । ‘सहकारी सुरु भएपछि म सदस्य बनेकी हुँ,’ उनले भनिन्, ‘३ वटा खाता छ, फिक्समा २० हजार रकम थियो, अरु २ वटामा १४ हजार र ३७ हजार रकम छ ।’
श्रीमान र छोरीका लागि आफूले सक्दो मेहेनत गरेर कमाएको पैसा बचत गरेकी उनले आफूमाथि बज्रपात परेको बताइ्न् । ‘म केही बोल्न सकेकी छैन,’ उनले भनिन्, ‘जिन्दगी नै डुबेको जस्तो भएको छ । म अब कसरी चल्ने ? परिवार कसरी चलाउने ? दिमागले सोच्न सकेको छैन ।’ बेलीले आफ्नो परिवारलाई नै ठूलो आपत परेको र यो समस्या समाधान नभए धेरै गाह्रो पर्ने बताइन् ।
पछिल्लो समय सहकारीमा बचत गर्ने, आफूलाई आवश्यक पर्दा पैसा निकालेर काम चलाउने सोचका साथ जम्मा गर्ने गरेका बचतकर्ताहरूले बचत रकम फसेसँगै अब अगाडि आइपर्ने गर्जो कसरी टार्ने भन्ने विखलबन्दमा परेको गुनासो गरे । बचतकर्ताले फोन गर्न खोज्दा न पदाधिकारीको फोन उठ्छ, न त उनीहरु भेट्न नै आउँछन् । सूचना नै टाँसेर सहकारी बन्द गरिदिएपछि सहकारीका बचतकर्तालाई झनै चिन्ता परेको छ । सहकारीमा कति बचतकर्ता छन् भन्ने विषय न बचतकर्तालाई थाहा छ, न उनीहरुमध्ये धेरैले यसअघि सहकारीस्थल नै देखेका थिए । आफ्नै दैलोबाट पैसा दिँदै पठाइरहेका उनीहरु पैसा डुबेपछि बल्ल सहकारीको कार्यालयमा जम्मा भएर दुखेसो पोख्दै गरेका भेटिए ।
