सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकार : प्रधानमन्त्री ओली

वैशाख ५, २०८२

रासस

In favor of good governance, development, prosperity and political stability, the current government: Prime Minister Oli

मुग्लिन (चितवन) — प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहका बीच उद्घाटन गरेका छन् । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको हो।

प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकास–निर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताए। नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उनले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन तीन करोड ९० लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार संघीय सरकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो। सो अवसरमा पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

रासस

Link copied successfully