डा. सन्दुकले विकटका बासिन्दालाई नयाँ वर्षमा दिए नयाँ ज्योति

बुई चढेर आए, नाच्दै फर्किए

वैशाख ५, २०८२

हरिराम उप्रेती

Dr. The ark gave a new light in the new year to the inhabitants of Wikat

विही, गोरखा — दुवै आँखाको ज्योति शल्यक्रियाबाट फर्किएपछि चुमनुव्री–४ का छेवाङ डुन्डुपले चारैतिर नजर डुलाए । जब श्रीमती दावा छेदेनलाई सामुन्ने देखे, एकोहोरो हेरे अनि खुसीले मुस्कुराए । आँखाको पट्टी खोल्दै गरेका वरिष्ठ आँखा शल्यचिकित्सक सन्दुक रुइतलाई अँगाल्दै खुसीले छमछमी नाचे । दुई हात जोड्दै उनी भन्दै थिए, ‘अब ममा फेरि बाँच्ने आशा पलायो ।’ 

६० वर्षीय छेवाङ आँखा देखुन्जेल कहिल्यै फुर्सदमा हुँदैनथे । खेतबारीमा उनको दिन बित्थ्यो । दुई वर्षअघि मोतियाबिन्दुको समस्याले भेटेपछि उनका आँखा बिस्तारै धमिलो हुँदै गए ।

वर्ष दिनदेखि ठप्पै नदेख्ने भएपछि उनी रन्थनिएका थिए । ‘बस्तु, बारी सबै काम बूढीले गर्नुपर्थ्यो, बिहान–बेलुकी खान के–के चाहिन्छ, सबै उनैले गर्थिन्, यो बुढेसकालमा मलाई शौचालय जान पनि बूढीको सहारा चाहिने भएको थियो । जिन्दगीदेखि नै विरक्त लाग्थ्यो,’ उनले भने । 

चुमनुव्री–५ विहीस्थित विही स्वास्थ्य चौकीमा शल्यक्रिया हुने थाहा पाएपछि छेवाङलाई श्रीमती छेदेनले नै डेढ दिनसम्म डोर्‍याएर पुर्‍याएका थिए । मंगलबार शल्यक्रिया हुँदा स्वास्थ्य चौकीको पर्खालमा बसेर दावा श्रीमान्को अवस्थाबारे नियाल्दै छटपटाइरहेकी थिइन्।

शल्यक्रिया सकिएर पट्टी खोलेपछि सहाराबिनै श्रीमान् हिँडडुल गर्न सकेको देखेपछि बल्ल सन्तोषको सास फेरिन् । त्यही खुसीको आँसुले आँखा टिलपिलाए । लुगाले आँसु पुछेर मुस्कुराइन् । त्यसपछि छेवाङलाई चारैतिर देखाउँदै डाँडाकाँडा चिनाइन् । 

तिलगंगा आँखा प्रतिष्ठान, रुइत फाउन्डेसन, करुणा सेचेन र देलेक फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा चुमनुव्री गाउँपालिका र सेराङ गुम्बाको समन्वयमा गोरखाको दुर्गम विहीस्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई दिनसम्मको पैदल यात्रा गरेर बिरामी आइपुगेका थिए । शिविरमा छेवाङसहित ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको थियो ।

मंगलबार र बुधबार दुई दिन चलेको आँखा शिविरको नेतृत्व डा. सन्दुक रुइतले गरेका थिए । मोतियाबिन्दुको शल्यक्रिया शिविरअघि चुमनुव्री गाउँपालिकाका ७ वडाका १४ ठाउँमा झन्डै १४ सय जनाको ‘स्क्रिनिङ’ गरिएको थियो । ‘स्क्रिनिङ’ मा मोतियाबिन्दु समस्या देखिएकाहरूको विहीमा शल्यक्रिया गरिएको हो । स्वास्थ्य शिविरका लागि तिलगंगाको टोली काठमाडौंबाट दुई दिन लगाएर विही पुगेको थियो । 

Dr. The ark gave a new light in the new year to the inhabitants of Wikat

दुर्गमका बिरामीको आँखाको ज्योति फर्काएर नयाँ वर्ष मनाउन पाउँदा औधी खुसी लागेको डा. रुइतले बताए । ‘नयाँ वर्षमा योभन्दा राम्रो सुरुवात के हुन्छ र ?’ उनले भने, ‘घरबाट आँगनमै निस्कन मुस्किल पर्ने बिरामी आँखाको ज्योति फर्किएर मुस्कुराएको देख्दा निकै आनन्द लागेको छ ।’ 

डा. रुइतबाट आँखाको शल्यक्रिया गराएका चुमनुव्री–१ सामागाउँका ७९ वर्षीय उर्गेन लामाले नयाँ जीवन पाएको प्रतिक्रिया दिए । उनी तिब्बती सीमा क्षेत्रको सामागाउँबाट दुई दिन लगाएर सोमबार साँझ विही आइपुगेका थिए । उनको दाहिने आँखाले धमिलो देख्न थालेको १० वर्ष भइसकेको थियो ।

‘काठमाडौं जान पैसा थिएन । यो उमेरमा चार दिन हिँडेर काठमाडौं पनि कसरी पुग्नु ? हेलिकोप्टरमा जाँदा दुई लाख भाडा लाग्छ भन्थे,’ उनले भने, ‘ठूलो डाक्टर गाउँमै आएकाले आँखा देख्ने भइयो, पैसा पनि परेन । अहिले त दुई दिन हिँड्दाको थकाइ पनि बिर्सिएँ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully