वैशाख ७ गते राप्रपाले 'निषेधित क्षेत्र'मा प्रदर्शन गर्ने

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

On 7th Baisakh, RPP will demonstrate in the 'forbidden area'

काठमाडौँ — राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत  १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो । 

बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । साथै, वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । 

पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइका लागि आन्दोलन सशक्त पार्ने पनि निर्णय गरेको छ ।

आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्‍याउने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully