राजविराज — शंकास्पद अवस्थामा मंगलबार मृत भेटिएकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी पूजाकुमारी रामको दाहसंस्कार गरिएको छ । उनको बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ । पास्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको थियो ।
बुधबार राति उनको दाहसंस्कार गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने अझ आइसकेको छैन । ‘भिसेरा परीक्षणका लागि पठाइएको छ, रिपोर्ट आउन केही समय लाग्छ,’ सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले भने, ‘घटनामा सूक्ष्म रूपले अनुसन्धान भइरहेको छ ।’
सोमबार राति भाइ विश्वजितसँग घरमा सुतिरहेकी नागेन्द्र रामकी १८ वर्षीया छोरी पूजा घरबाटै बेत्ता भएकी थिइन् । खोजी गर्दै जाँदा घरदेखि एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछियाँ भन्ने ठाउॅंमा उनी शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् ।
तीन वर्षअघि यौन हिंसामा परेपछि मृतक पूजा फेरि यौनहिंसामा पर्न सक्ने त्रासले विद्यालय जानसमेत छाडेकी थिइन् । उनी मसिलाल जनता (प्राविधिक) विद्यालय कुशहामा कक्षा १० मा अध्ययरत रहँदा नै विद्यालय जान छाडेकी थिइन् ।
प्रहरीले सो यौन हिंसा (जबर्जस्ती करणी उद्योग) घटनामा दोषी रहेका ठाकुर थरका युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ती युवकलाई सप्तरी जिल्ला अदालतबाट ८ महिना कैद, ७ हजार रुपैयाँ जरिवाना तथा क्षतिपूर्तिबापत २० हजार पीडितलाई दिलाउन फैसला भएको थियो ।
अदालतको फैसलापछि फरार भएर चितवनमा बस्दै आएका युवक सात दिनअघि मात्रै घर फर्किएका थिए । युवकलाई मंगलबारै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
