भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको सरकार टिक्दैन : माओवादी अध्यक्ष दाहाल

वैशाख ४, २०८२

दीपेन्द्र बडुवाल

A government built on the will of corrupt and middlemen will not last: Maoist Chairman Dahal

भैरहवा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको भावनाविपरीत र अपारदर्शी ढंगले निर्माण भएको वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने दोहोर्‍याएका छन्। भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको गठबन्धन सरकारभित्रै असन्तुष्टि तीव्र भइसकेकाले आफूहरूले धेरै विरोध गर्नु नपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल रुपन्देहीले बिहीबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री दाहालले सरकारमा संलग्न नेपाली कांग्रेसका महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको उल्लेख गर्नुले आफूहरूको आरोप पुष्टि भएको बताए।

‘एमालेभित्र पनि असन्तुष्टि भुसीको आगोझैँ फैलिएको छ,’ उनले भने, ‘सरकारमा सहभागी दलका नेतासँगको संवादका आधारमा यो सरकार नयाँ वर्षसँगै जान्छ भनेको थिएँ। यो सरकार जतिदिन लम्बिन्छ, त्यति जनताको लागि दुर्भाग्य हो।’

सरकारले गरिरहेका राजनीतिक नियुक्ति पनि बिचौलियाको स्वार्थअनुसार भइरहेको आरोप उनले लगाए।

‘अहिलेको सरकारले राम्रो काम गर्ने इमानदार कर्मचारीलाई प्रताडित तुल्याइरहेको छ,’ उनले भने, ‘आफ्नो मान्नेलाई मात्र भर्ना गरिरहेको छ।’

अहिले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुको कारण बिचौलियाबीचको तानातान भएको उनले बताए।

‘बिचौलियाको यो समूहको गभर्नर हुने कि त्यो समूहको भन्ने लडाइँ हो,’ उनले भने, ‘त्यसैले हामीले गभर्नर जस्तो आर्थिक सुशासन दिने पदमा बिचौलियाको चलखेल बन्द गर्न भनेका छौँ।’

मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त हुनुपर्नेमा सुरुदेखि आफ्नो पार्टीले जोड दिइरहेको उनले बताए। अर्थतन्त्रका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्त गरिनु पर्ने उनको भनाइ थियो।

दीपेन्द्र बडुवाल

Link copied successfully