काठमाडौँ — हरेक दिन सामाजिक संजालमा सक्रिय देखिने रविन्द्र मिश्र पछिल्लो १९ दिनयता न त सामाजिक संजालमा देखिएका छन् न त सार्वजनिक वृत्तमा । १९ दिनदेखि प्रहरी परिसर काठमाडौंको थुनामा रहेकै कारण मिश्रको सार्वजनिक उपस्थिति शून्य भएको हो । राप्रपाकै अर्का नेता धवलशम्सेर राणासँगै थुनामा रहेका मिश्र कसरी दिन बिताइरहेका छन् त ?
चैत १५ मा तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन र त्यसक्रममा २ जनाको मृत्यु भएकै दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहितका राप्रपाका नेताहरु पक्राउ परेका थिए ।
बुधबार कान्तिपुरसँग कुरा गर्दै मिश्रले आफूले थुनाभित्र कविता लेखिरहेको सुनाए । उनले भने, ‘कविता लेखेर धवलशम्सेरलाई सुनाउँछु ।’
मिश्रले बिहानको समय पत्रिका पढ्ने र अरु समय आफूले एउटा अंग्रेजी र दुइटा नेपाली किताब पढेर समय बिताइरहेको पनि बताए । फुर्सदकाे समयमा योग गरेर बिताउने गरेकाे भन्दै उनले थुनुवा कक्षाकाे खाना भने राम्राे रहेकाे बताए ।
उनले धवलशमसेर र आफू दुवैजनाका निम्ति थुना बसाईको पहिलो अनुभव रहेको मात्रै बताएनन्, आफूले कुनै अपराध नगरे पनि राज्य नै लागेर आफूहरुलाई थुनाइरहेको आरोप लगाए ।
