एमाले-कांग्रेस सरकार ढल्दैन, २०८४ सम्मै टिक्छ : महामन्त्री थापा

वैशाख ३, २०८२

लक्ष्मी साह

The UML-Congress government will not collapse, it will last till 2084: Mahamantri Thapa

बारा — सरकारले काम गर्न सकेन भनेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने बताएका छन् । सरकार सञ्चालनका लागि बनाइएको द्विदलीय संयन्त्रका सदस्यसमेत रहेका महामन्त्री थापाले बुधबार बाराको बडहर्वामा आयोजित कार्यक्रममा बाहिर जस्तोसुकै हल्ला भए पनि सत्यता नभएको बताएका हुन् । 

सत्ता गठबन्धन रहिरहने दाबी गर्दै सरकारको कार्यशैली सुधार गर्नुपर्ने उनले बताए । कांग्रेस–एमालेमा खटपटले सरकार ढल्ने चर्चा भइरहेकै बेला उनले सरकार नढल्ने दाबी गरेका हुन् । ‘सरकार ढल्दैन, २०८४ सम्मै जान्छ,’ उनले भने, ‘तर सरकारको कमीकमजोरीलाई परिमार्जन गरेर लगिने छ ।’ 

संघीय सांसदसमेत रहेका थापाले सरकार जनताको चाहना र भरोसाको काम गर्न चुकेको भए पनि अब सुधार गरेर अघि बढ्ने र गठबन्धनलाई सुदृढ गरेर जानुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । ‘त्रुटि सच्याएर अघि बढिनेछ । जुन उद्देश्यले गठबन्धन भयो त्यो अझै पूरा भएको छैन,’ उनले भने, ‘विगतको राजनीतिमा कांग्रेस–एमाले मिलेर काम गर्दा देश र जनताको लागि राम्रो नतिजा दिएको उदाहरण छ । त्यसैले तालमेल गरेर अघि बढ्नुको विकल्प छैन ।’ 

संघीयता र लोकतन्त्रको विकल्प नभए पनि संघीयताको स्वरूप परिमार्जन गरी कम खर्चिलो बनाउन र सर्वस्वीकार्य हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको उनले बताए । ‘संघीयताका लागि मधेशले बलिदानी दिएको छ,’ उनले भने, ‘तर संघीयताको मर्मअनुसार मधेशमा काम र विकास हुन सकेको छैन ।’ योजना बिक्री गर्ने कार्य विकास र संघीयताका लागि राम्रो अभ्यास नभएको उनले बताए । पार्टी महाधिवेशनका सन्दर्भमा उनले भने, ‘२०८३ को मंसिरमा महाधिवेशन हुन्छ ।’ 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully