काठमाडौँ — शिक्षकहरूलाई सडक प्रदर्शन गर्न बाध्य पारेर अपमान गरिएको सत्तारुढ कांग्रेसका सांसद डा. सुनील शर्माले बताएका छन् । उनले शिक्षकहरूलाई तत्काल कक्षा कोठामा फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सांसद शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, 'एकातिर शिक्षाको ज्योति फैलाउने गुरुहरूको अपमान भइरहेको छ भने अर्कोतिर लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ ।'
शिक्षकका माग सम्बोधन गर्नका लागि सरकारले अग्रसरता लिनुपर्ने डा. शर्माको आग्रह छ । 'नेपाली समाजको रूपान्तरणमा सबैभन्दा बलियो र प्रभावकारी भूमिका खेल्नु भएका शिक्षकहरूका मागका विषयमा सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिलो गर्न हुँदैन,' उनको भनाइ छ, 'बरु शिक्षकका मागका विषयमा संसद्ले के काम गर्न पर्छ, हामी त्यसमा तयार छौँ ।'
सामुदायिक विद्यालयको शिक्षा दिनप्रतिदिन कमजोर भइरहेका बेला शिक्षकहरू १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेकोमा सांसद शर्माले सबैको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । 'गुरुहरूलाई सडकमा होइन उच्च मनोबल र सम्मानका साथ विद्यालयमा छिटो पठाउने वातावरण सरकारले अविलम्ब आवश्यक कदम चालेर बनाउनुपर्छ,' उनको भनाइ छ ।
