संरक्षक रेमशलाल चौधरी, अध्यक्ष सीके राउत वरिष्ठ उपाध्यक्ष वा तेस्रो वरीयतामा रन्जिता श्रेष्ठ
धनगढी/काठमाडौं — मधेश प्रदेशमा बलियो प्रभाव रहेको जनमत पार्टी र सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लामा बलियो संगठन रहेको नागरिक उन्मुक्तिबीच एकता अन्तिम चरणमा पुगेको छ । दुई पार्टीबीच वैशाख तेस्रो साताभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।
दुवै पार्टीको विधानलाई अन्तिम रूप दिएर एकता घोषणा मिति तय गर्ने जनमत उपाध्यक्ष अब्दुल खान जानकारी दिएका छन् ।‘विधान मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ,’ उनले भने, ‘विधानका विषयवस्तु टुंग्याएपछि वैशाख तेस्रो साताभित्र पार्टी एकता घोषणा हुन्छ ।’ उनले काठमाडौंमा पार्टी एकता घोषणा हुने जानकारी दिए ।
दुवै पार्टीका केन्द्रीय सदस्य करिब ५०/५० प्रतिशत हुने गरी करिब सात सय सदस्यीय केन्द्रीय समिति बनाउने तयारी छ । त्यस्तै एक सयदेखि एक सय ५० सदस्य केन्द्रीय कार्यकारिणी र २५ सदस्य सचिवालय बनाउने गरी विधानमा काम भइरहेको दुवै दलका सदस्य रहेको विधान प्रतिस्थापन सदस्यले बताएका छन् ।
नागरिक उन्मुक्ति संरक्षक रेशमलाल चौधरीले विधान मस्यौदामा धेरै विषय मिलिसकेको र केही प्राविधिक विषय बाँकी रहेको बताए । नागरिक जनमत पार्टी र चुनाव चिह्न ढकियामा सहमति भइसकेको उल्लेख गर्दै चौधरीले प्राविधिक विषय मिलाउन बाँकी रहेकाले केही ढिलाइ भएको बताए । सहमतिअनुसार रेशम चौधरी संरक्षक, अध्यक्ष सीके राउत र तेस्रो वरीयतामा रन्जिता श्रेष्ठ चौधरी रहने छन् । मुख्यगरी तीन नेताको बैठकले पार्टी वरीयता मिलाएकाले विवाद बाँकी नरहेको श्रेष्ठले बताइन् । ‘पार्टी एकताका लागि विवाद छैन,’ उनले भनिन्, ‘मेरो केही असहमति भए सार्वजनिक रूपमा आफ्ना कुरा राखिहाल्थे । नेतृत्वको सहमतिमै एकता घोषणा हुनेछ ।’
संरक्षक रेशमले रञ्जितासहित भएको बैठकले मुख्य विषय टुंगोमा लगाएको दाबी गर्दै विवादको विषय आफ्नो दलभित्र नरहेको बताए । ‘हामी सँगै बसेर एकताको कुरा टुंग्याएको हो,’ उनले भने, ‘म र रन्जिताबीचको विवादले रोकिएको सही होइन ।’
जनमत र उन्मुक्तिबीच भौगोलिक हिसाबले पार्टी सञ्चालनको जिम्मा लिने सहमति भएको छ । रेशम चौधरीले चितवन पश्चिम र सीके राउतले चितवनपूर्वको पार्टी संगठनको जिम्मा लिने सहमति भएको जनमत उपाध्यक्ष खानले बताए । प्रतिनिधिसभामा जनमतका ६ र उन्मुक्तिका ४ सदस्य छन् । सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशसभामा यो शक्ति निर्णायक हुने छ ।
मस्यौदा समितिमा नागरिक उन्मुक्तिबाट संयोजक रहेका दामोदर पण्डित चुनाव चिह्न मुख्य कुरा भएकाले पार्टी पंक्तिमा ठूलो विमति नरहेको दाबी गर्छन् । ‘हाम्रो चुनाव चिह्न ढकिया हो । त्यो यथावत हुने भएपछि केही फरक परेन । मुख्य कुरा यही हो,’ संयोजक पण्डितले भने ‘ठूलो हिस्सा उत्साहित छ । केही झुन्ड त विमति राख्ने नै हुन्छ ।’
पार्टी एकताका लागि दुवै पार्टीबाट तीन तीन जना रहने गरी ६ सदस्यीय विधान प्रतिस्थापन समिति गठन गरिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट संयोजक दामोदर पण्डित छन् भने सदस्यमा गीता चौधरी र सरोज बुढाथोकी रहेका छन् । संयोजक पण्डितले नेतृत्व परियतामा विवाद नभएको बताए । ‘नागरिक उन्मुक्ति पार्टीमा ट्रेडमार्क रेशम हुन्, उनको भावनाविपरीत कसैले महत्त्वाकांक्षा राख्नुको अर्थ छैन,’ पण्डितले भने ‘रन्जिताजीले पनि असहमति राखेर केही हुन्न ।’
उनले विधान प्रतिस्थापन समितिले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तावित विधान पेस गर्ने कार्यक्रम रहेको बताए । ‘वैशाख ३ गते बुधबार केन्द्रीय समिति बैठक बस्ने कुरा थियो । छलफल चलिरहेकै कारण निर्धारित मितिमा बैठक बस्न नसक्ने भो । जे होस्, आगामी बैठकमा विधान पेस गर्छौ ।’ उनले पहिलो वरीयतामा संरक्षकका रूपमा रेशम चौधरी, दोस्रो वरीयतामा तथा अध्यक्षमा सीके रावत र तेस्रो वरीयतामा रहने गरि सहअध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई राख्ने कुरा भएको बताए ।
अदालतले दोषी ठर्याई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीलाई संरक्षकमा राख्ने सन्दर्भमा भने केही फरक मत र वैधानिकतामा पनि प्रश्न उठ्न सक्ने नागरिक उन्मुक्तिकै पार्टी कार्यकर्ता औंल्याउछन् । ‘रेशमजीका हकमा हामी दुवै सहमत भए अरुले भनेर केही हुन्न,’ पण्डितले भने ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष प्रदीप चौधरीले पार्टी संरक्षकमा रेशम चौधरीलाई राख्ने कुरा अलिखित दस्तावेज तथा व्यवहारिक रूपमा फरक नपर्ने भए पनि वैधानिकतामा भने भविष्यमा झमेला आउन सक्ने चिन्ता रहेको बताउँछन् । त्यस अवस्थामा भविष्यमा के हुने भन्ने अन्योल कायम रहेको उनको भनाइ छ । ‘हामीले दूरदृष्टि राखेर जानु पर्ने छ । एकता प्रक्रियाका सन्दर्भमा केही नमिलेको जस्तो देखिन्छ । ढिलाइको कारण त्यही हो,’ अध्यक्ष चौधरीले भने ‘अध्यक्ष रन्जिताको रिजर्भेसन मुख्य कारण हो । उहाँले भोलिको कुरा हेर्नु भएको हो ।’ नागरिक उन्मुक्तिका नेता कार्यकर्ताका अनुसार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी तेस्रो वरीयतामा बस्न मञ्जुर छैनन् । कैलाली अध्यक्ष चौधरीको भनाइ पनि त्यही छ । ‘क्षेत्राधिकार क्लियर हुनु पर्यो । कार्यकारी अधिकारसहितको हुनुपर्यो । अहिलेको विधानमा सहअध्यक्ष र संरक्षक भन्ने नै छैन,’ उनले भने ‘सहअस्तित्वको सवाल मुख्य हो ।’
एकता प्रक्रियाका लागि दुवै दलका सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी संयोजक छन् । उनले दोस्रो चरणका बैठक भइसकेको तर तेस्रो चरणबारे यकिन हुन नसकेको बताए । ‘नयाँ गठन हुने पार्टी संरचनामा दुवै पार्टीबाट आधा-आधा संख्या रहने र क्षेत्राधिकारमा पनि समान हैसियतमा हुने छ,’ चौधरीले भने ‘तर वैशाख पहिलो साताबाट भने केही पछि धकेलिन सक्छ । हामी छलफल परामर्शमै छौं ।’
यता, नागरिक उन्मुक्तिको पार्टी संगठनको सबैभन्दा ठूलो हिस्सा रहेको क्षेत्र हो सुदूरपश्चिम । थारु समूदायको मुद्दा उठान गरेर छोटो समयमै स्थापित भएको नागरिक उन्मुक्तिका प्रदेशसभामा सात सदस्यसहित चौथो ठूलो दल नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता भने अन्योलमा छन् । धेरैजसो कार्यकर्ता माथिबाट आउने निर्देशन सुनेर बस्नु परेको बताउँदै सुदूरपश्चिममा जनमतको पार्टीको न्यून उपस्थिति रहेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी संगठनमा मात्रै हलचल हुन लागेको बताउँछन् ।
नागरिक उन्मुक्तिको जग सुदूरपश्चिम भएको र यहाँ जनमत पार्टीको न्यून उपस्थिति रहेको बताउँदै कैलाली अध्यक्ष चौधरीले पार्टी एकता भएको अवस्थामा आगामी दिनमा संगठन कसरी अगाडि बढ्छ भन्ने खाका प्रस्ट नभएको बताए । ‘पार्टीका आमकार्यकर्तामा अन्योल छ,’ उनले भने ‘जुन ध्येयका साथ पार्टी स्थापना भएको हो र जुन उपलब्धि हासिल गरेको छौं, आगामी दिनमा हाम्रा मुद्दा र सवाल छुट्लान् कि भन्नेमा सबैको चिन्ता छ ।’
'म असन्तुष्ट भए सार्वजनिक रूपमा राखिहाल्थेँ'
जनमत र उन्मुक्तिबीच पार्टी एकता घोषणा कहिले हुन्छ ?
राजनीतिक र सैद्धान्तिक रूपमा सहमति भइसकेको छ । केही प्राविधिक विषय मिलाएपछि घोषणा हुन्छ । शीर्ष नेताबीच अन्तिम टुंगो लागेपछि घोषणा हुन्छ ।
पार्टी एकताका लागि तपाईं किन असन्तुष्ट हुनुहुन्छ ?
पार्टी एकतामा मेरो अहमति भए सार्वजनिक रूपमै राखिहाल्थेँ नि । हामी नेताहरू बसेरै पार्टी एकता गर्ने सहमति भएको हो ।
तपाईंको पदीय वरीयताको विवाद छ भनिन्छ नि ?
हैन, त्यस्तो छैन । सम्मानजनक रूपमा जिम्मेवारी लिने कुरा हो । सबै साथीहरूको जिम्मेवारी मिलाउन समय लागेको हो । एकता कार्यदलका सदस्य गृहकार्य गरिरहनु भएको छ ।
उसो भए एकता घोषणामा किन ढिलाइ भइरहेको छ ?
विधान मस्यौदालाई अन्तिम रूप दिन बाँकी छ । त्यसैले ढिला भएको होला । छिट्टै एकता घोषणा गर्ने तयारी छ ।
