गल्ती सच्याएर अगाडि बढ्न माओवादीलाई एक पटक मौका दिनुहोस् : अध्यक्ष दाहाल

वैशाख ३, २०८२

नवीन पौडेल

Give Maoists a chance to correct their mistakes and move forward: Chairman Dahal

परासी — माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादीले गल्ती गरे पनि सच्चिएर अगाडि बढ्न जनताको बीचमा आएको बताएका छन् । ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान’ अन्तर्गत आज पश्चिम नवलपरासीको प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले एक पटक मौका मागेका हुन् । 

‘माओवादी जनताको पार्टी हो । गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला,’ उनले भने, ‘गल्ती सच्याउँदै अगाडि बढ्ने हो । जिल्लाका साथीले पनि आत्मालोचना गर्दै जनताको पक्षमा काम गर्नु होला ।’ 

मधेशमा कृषि क्रान्तिको सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विकास हुन नसकेको बताउँदै भारतबाट अवैध रूपमा आयात हुने कृषि उपजको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

आजै जिल्लाको पाल्हिनन्दनमा हुने सभालाई सम्बोधन गर्ने र सदरमुकाम परासीमा बुद्धिजीवी, उद्योगी तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully