काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद २०२५’ को तयारी राम्रोसँग अगाडि बढिरहेको बताएकी छन् । चैत ३ मा मन्त्रालयमा बसेको व्यवस्थापकीय समितिको दोस्रो बैठकमा मन्त्री राणाले संवादको तयारी अघि बढेको बताएकी हुन् ।
‘अहिलेसम्म काम राम्रोसँग अगाडि बढेको छ । यो अग्रणी कार्यक्रम हो,’ उनले भनिन्, ‘यस्तै कार्यक्रम आगामी वर्षमा पनि गर्ने भनेका छौं । त्यसैले अहिलेसम्म भएको कामको दस्तावेज गरौं ।’
पहिलो संस्करणको सगरमाथा संवाद काठमाडौंमा जेठ २, ३ र ४ मा आयोजना हुँदैछ । संवादको मिति नजिकिएसँगै यसको प्रगति र थप गर्नुपर्ने निर्णयबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा व्यवस्थापकीय समितिको दोस्रो बैठक बसेको हो । ‘यो बैठकले मलाई हलुका महसुस भएको छ । तयारी कसरी भइरहेको छ भनेर चिन्तित थिए,’ उनले भनिन्, ‘अब यसमा तपाईंहरू सबैले मसिनोसँग काम गर्नुपर्छ । त्यही अनुसार तयारी गर्दै जानुपर्छ ।’
यसैगरी संवादमा सहभागी हुन पठाइएको निमन्त्रणालाई कतिले स्विकारे र को–को आउने यसबारे पनि अपडेट हुन उनले सगरमाथा संवाद सचिवालयलाई निर्देशनसमेत दिइन् ।
‘विदेशी पाहुनाले आउने नआउने के भनिरहेका छन् । यसबारे अपडेट लिराख्नुपर्छ,’ उनले भनिन्, ‘त्यहीअनुसार हामीले तयारी गर्नुपर्छ ।’ साथै आएका पाहुनाको सम्मान र व्यवस्थापनका लागि नेपालको तयारी राम्रो हुनुपर्ने उनले बताइन् ।
