काठमाडौँ — मुख्य सचिव एकनारायण अर्यालले सगरमाथा संवाद राष्ट्रलाई चिनाउने अवसर रहेको बताएका छन् । सगरमाथा संवाद आयोजनाको मिति नजिकिएसँगै यसको तयारीमा सबै जुट्न उनले निर्देशनसमेत दिएका छन् ।
चैत ३ मा परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद २०२५ को व्यवस्थापकीय समितिको बैठकमा मुख्य सचिव अर्यालले उक्त निर्देशन दिएका हुन् ।
‘यो हाम्रो राष्ट्रलाई चिनाउने अवसर हो । यो देशको प्रतिष्ठासँग जोडिएको छ,’ उनले भने, ‘अब हामीसँग धेरै समय छैन । यसमा जो–जो साथीले जिम्मेवारी लिनुभएको छ खटेर काम गरौं ।’
आवश्यकताअनुसार जनशक्ति चाहिए यसमा थप गरिने उनले बताएका छन् । साथै संवादको प्रचारप्रसार गर्न र सचिवालयले गरेको काममाथि कसैले प्रश्न नउठान जिम्मेवार भएर लाग्न पनि उनले निर्देशन गरेका छन् । सगरमाथा संवादले विदेशी राष्ट्रसँगको भोलिका दिनको सम्बन्ध पनि राम्रो बनाउन सहयोग गर्ने भएकाले यसको गुणस्तरमा ध्यान दिन उनले निर्देशन दिएका हुन् ।
पहिलो संस्करणको सगरमाथा संवाद काठमाडौंमा जेठ २, ३ र ४ मा आयोजना हुँदैछ । संवादको मिति नजिकिएसँगै यसको प्रगति र थप गर्नुपर्ने निर्णयबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा व्यवस्थापकीय समितिको दोस्रो बैठक बसेको हो ।
