किन लामो समय रहिरहन्छ रुघाखोकी ?

वैशाख २, २०८२

रासस

Why does the cold persist for a long time?

काठमाडौँ — यतिबेला रुघाखोकी लागेका बिरामीको संख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडा हरेक तीन वर्षमा इन्फ्लुएन्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउँछन् । 'रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ,' उनले भने, 'खोकी, स्वाँस्वाँ हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेका छन् ।' अझै एक महिना यस्तो समस्या रहने उनको भनाइ छ । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो ।

सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउँछन् । उनले मास्कको प्रयोग गर्न, भिडभाडमा नजान सुझाव दिए ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउँछन् । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ ।

'कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ,' उनले भने, 'नियमित औषधि सेवन गर्नेलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने हुन सक्छ ।'

विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीलाई जोगाउनुपर्नेमा उनको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएको जस्तो देखिने गरेको छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकामा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामी धेरै आउने गरेको बताउँछन् । 'दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ,' उनले भने ,'कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेका पनि छन् ।' वायु प्रदूषण अर्काे कारण हुन सक्ने डा अधिकारीको भनाइ छ ।

रासस

Link copied successfully