पूर्वराष्ट्रपतिलाई पनि विभूषण दिन मिल्ने गरी मापदण्ड संशोधन

पछिल्लो पटक निर्धारण गरिएका विभूषण बनाउन १५ करोडभन्दा बढी रकम खर्च हुन सक्ने गृह मन्त्रालयको अनुमान

वैशाख २, २०८२

मातृका दाहाल

Amendment of the criteria so that former presidents can also be given bibhushan

काठमाडौँ — पूर्वराष्ट्रपतिलाई पनि विभूषण दिन मिल्ने गरी सरकारले विभूषण प्रदानसम्बन्धी मापदण्ड संशोधन गरेको छ । पूर्वराष्ट्रपतिसहित पूर्वअतिविशिष्ट पदाधिकारीलाई विभूषण दिन सरकारले मापदण्ड नै हेरफेर गरेको हो ।

पूर्वउपराष्ट्रपतिसम्मलाई मात्र विभूषण दिन मिल्ने यसअघिको मापदण्ड संशोधन गरेर विभूषण पाउनेको सूचीमा पूर्वराष्ट्रपतिलाई पनि समेटिएको हो । योसँगै पूर्वअतिविशिष्ट पदाधिकारीका रूपमा रहेका पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षमध्येबाट दुई जनालाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गर्ने मापदण्ड बनाइएको छ । विभूषण समितिबाट पूर्वअतिविशिष्टमध्येबाट दुई जनालाई विभूषण सिफारिस गर्ने प्रबन्ध राखिएको छ । 

गृह मन्त्रालयका पूर्वसचिव उमेश मैनाली पूर्वराष्ट्रपतिलगायत व्यक्तिको ओहदा नै तोकेर विभूषण दिनेसम्बन्धी प्रावधान गलत भएको बताउँछन् । ‘पूर्वराष्ट्रपतिलाई विभूषण दिनै हुँदैन भन्ने त होइन तर ओहदा तोकेर विभूषणको कोटा निर्धारण गरिनु एक किसिमको सिन्डिकेट हो,’ मैनाली भन्छन्, ‘विभूषण त सर्वस्वीकार्य व्यक्ति, जसले देश र जनताको पक्षमा निर्विवाद ढंगले काम गरेको छ, त्यस्तालाई दिने हो ।’

संशोधित मापदण्डअनुसार संविधान दिवस २०८२ (असोज ३) मा विभूषण प्रदान गर्ने सरकारको तयारी छ । विभूषण समिति स्रोतका अनुसार यो वर्ष सिफारिस भएकाको सूची देशभरबाट आइसकेको र त्यसको ‘स्क्रिनिङ’ भइरहेको छ । सत्तारूढ दलबीच भागबन्डा नमिल्दा २०७९ देखि विभूषण बाँडिएको छैन । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा माओवादी–कांग्रेस गठबन्धन सरकारले करिब ६ सय जनालाई विभूषण दिने अन्तिम तयारी गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार त्यसबेला सिफारिस समितिसमक्ष अनुमान गरेभन्दा तीन गुणा बढीको नाम समेट्न दबाब–प्रभाव आएपछि सरकारले विभूषण सिफारिस प्रक्रिया नै स्थगित गरेको थियो । करिब ४ सयलाई त्यो वर्ष विभूषण दिने गरी नाम छनोट भइरहेका बेला सिफारिस समितिमा १ हजार बढीको नाम समेट्न दबाब–प्रभाव आएपछि प्रक्रिया नै अवरुद्ध बन्न पुगेको थियो ।

त्यसको तीन वर्षपछि वर्तमान सरकारले संविधान दिवसका अवसरमा विभूषण बाँड्नका लागि मापदण्ड संशोधन गरेको हो । जसमा ‘महाउज्ज्वल राष्ट्रदीप’ (प्रथम श्रेणी) तहको विभूषण पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षमध्येबाट दुई जनालाई दिइने उल्लेख छ । यो सूचीमा अतिविशिष्ट योगदान पुर्‍याउने अरू व्यक्तिलाई पनि समेट्न सक्ने भनिएको छ ।

सरकारले गत मंसिरमै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा विभूषण सिफारिस समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहको अध्यक्षतामा गृहमन्त्री रमेश लेखक र अरू ६ विज्ञका रूपमा लवदेव अवस्थी, गोपीनाथ मैनाली, शर्मिला कार्की, उमेशराज जोशी, सुरेन्द्र झा र योगेन्द्रबहादुर गुरुङ सदस्य तथा गृहसचिव गोकर्णमणि दुवाडी सदस्य सचिव रहेको विभूषण सिफारिस समिति गठन गरेको थियो । 

मन्त्रिपरिषद्ले ६ वर्षअघि जारी ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५’ संशोधन गरी पुसमा नयाँ मापदण्ड २०८१ जारी गरेको थियो । त्यसपछि पुनः मापदण्ड २०८१ मा संशोधन गरेर उच्च तहको विभूषण पाउनेको सूचीमा पूर्वराष्ट्रपतिलाई पनि समावेश गराइएको छ । जसमा विभूषणको कोटा २ सय १ कायम गरिएको छ । गृह मन्त्रालयका एक अधिकारी पछिल्लो पटक निर्धारण गरिएका विभूषण बनाउन १५ करोडभन्दा बढी रकम खर्च हुन सक्ने बताउँछन् । 

संशोधित मापदण्डअनुसार नेपाल रत्न एक पटकमा एक जना र राष्ट्र गौरव एक पटकमा दुई जनासम्मलाई दिन सकिने व्यवस्था छ । त्यस्तै, राष्ट्रदीपतर्फ महाउज्ज्वल राष्ट्रदीप प्रथम दुई जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीप दुई जना र सुकीर्तिमय राष्ट्रदीप तृतीय बढीमा पाँच जनालाई दिने गरी संशोधन भएको छ । मापदण्ड २०७५ मा प्रथम पाँच जना, उज्ज्वल कीर्तिमय पाँच जना र सुकीर्तिमय १० जनालाई दिने मापदण्ड थियो । 

अरू विभूषणमा पनि कोटा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट मनमौजी सिफारिस गरिँदै आएकामा संशोधित मापदण्डमा प्रजिअका अधिकार कटौती गरेर प्रदेश र स्थानीय सरकारबाट पनि विभूषण सिफारिस गर्न सकिने प्रबन्ध समेटिएको छ । जसअनुसार नेपाली सेनालाई २५, प्रहरीलाई २०, सशस्त्र प्रहरीलाई १२ र राष्ट्रिय अनुसन्धान विभागलाई ४ जना कोटा निर्धारण गरिएको छ । हरेक मन्त्रालय/विभागसहित निजामतीतर्फ तीन सयसम्म कर्मचारी भएकालाई एउटा, पाँच सयसम्म भएमा दुई, हजारसम्म भएमा तीन, पाँच हजारसम्म कर्मचारी भएमा चार र त्यसमाथि भएमा पाँच विभूषण हरेक मन्त्रालयका लागि छुट्याइएको छ । त्यस्तै, ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले जिल्ला मातहत कर्मचारीबाट दुई र सर्वसाधारण/पेसा/व्यवसाय/सामाजिक कार्यमा संलग्नमध्येबाट दुई जना गरी ४ जनासम्मको नाम गृह मन्त्रालयमा सिफारिस गर्न सक्ने व्यवस्था मापदण्डमा छ । 

गाउँपालिका प्रमुखले मातहत पालिकाबाट दुई जना, नगरपालिका प्रमुखले तीन जना, उपमहानगरबाट चार र महानगरबाट ६ जनाको नाम विभूषणका लागि सिफारिस गर्न पाउने प्रबन्ध राखिएको छ । त्यस्तै, हरेक प्रदेश सरकारले प्रदेशका विभिन्न संयन्त्रमध्येबाट नाम छानेर २० देखि ३० जनासम्मको नाम सिफारिस गरेर पठाउन सक्ने गरी कोटा तोकिएको छ । यसअघि स्थानीय र प्रदेश सरकारबाट विभूषणका लागि संघ सरकारमा नाम पठाउने प्रबन्ध नभएकोमा यस पटकबाट थपिएको हो । 

विभिन्न क्षेत्रमा रहेर राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विभूषण प्रदान गरिने कानुनी प्रबन्ध छ । जसअनुसार राजनीतिक, सामाजिक, आर्थिक, शान्तिसुरक्षा र प्रशासन, शिक्षा तथा स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान प्रविधि, अन्वेषण एवं अनुसन्धान, भाषा, कला, साहित्य र संस्कृति, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमध्येबाट विभूषण सिफारिस गरिने मापदण्ड २०७५ मा उल्लेख थियो । संशोधित मापदण्ड २०८१ मा खेलकुद र सूचना सञ्चार, विज्ञान प्रविधि अन्वेषण तथा अनुसन्धान भन्ने क्षेत्रलाई संशोधन गरी स्वास्थ्य एवं चिकित्सा विज्ञान क्षेत्र र भाषा, साहित्य, कला र संस्कृति क्षेत्र पनि समेटिएको छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully