तीन पुस्ता नै नागरिकताविहीन

७५ वर्षकी सतोदेवी सदा मात्र होइन, ५३ वर्षीय छोरा चन्दर र छोरीतर्फकी नातिनी २४ वर्षीया ललितालगायत परिवारका कसैले नागरिकता पाउन सकेका छैनन्

वैशाख १, २०८२

विद्यानन्द राम

Three generations without citizenship

सप्तरी — सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी सतोदेवी सदा ७५ वर्ष पुगिन् । उनका छोरा चन्दर ५३ वर्ष र छोरीतर्फकी नातिनी २४ वर्षकी भइसकेकी छन् । तर परिवारमा कसैको पनि नागरिकता छैन ।

सतोदेवीको डाक्नेश्वरी–४ स्थित कुशहामा विवाह भएको थियो । पति धुथर सदाको नागरिकता थिएन । २५ वर्षअघि नै धुथरको मृत्यु भएपछि उनी माइतीमै बस्दै आएकी छन् ।

‘त्यो बेला उहाँ (पति) नागरिकता बनाउनका लागि धेरै ठाउँमा गुहार माग्दा कसैले पनि सहयोग गरिदिनुभएन,’ उनले भनिन्, ‘मर्ने बेलामा पनि उहाँलाई नागरिकता नपाएको पीर थियो ।’

नेपालमै जन्मेर पनि नेपाली नागरिकको परिचय नै नपाई पतिको निधन भएको दुखेसो उनले सुनाइन् । ‘आफू पनि नेपाली नागरिक नहुँदै मर्छु कि भन्ने चिन्ताले पिरोलिरहन्छ,’ उनी भन्छिन् । छोरा–बुहारी र नातिनातिना पनि पहिचानविहीन रहेको भन्दै दुःख व्यक्त गर्छिन् । ‘राज्यसँग सम्बन्ध जोड्ने हामीसँग कुनै आधार–प्रमाण छैन,’ उनी भन्छिन्, ‘एक त दलित, त्यसमाथि नागरिकताविहीन, नेताहरूले पनि वास्ता गर्दैनन् ।’ ऐलानी जग्गामा बसिरहेका कारण उनीहरूसित कुनै किसिमको सरकारी कागजात छैन ।

नागरिकता नहुँदा अहिलेसम्म परिवारले कुनै सरकारी सुविधा पाउन सकेको छैन । ‘म आफूले सामाजिक सुरक्षा भत्ता पाउनु त परै जाओस्,’ उनी भन्छिन्, ‘बालबच्चाको जन्मदर्तासमेत हुन सकेको छैन ।’

बस्दै आएका उनका ज्वाइँ ५९ वर्षीय मागैन सदाको पनि नागरिकता छैन । सुरुंगा नगरपालिका–४ स्थित मधुपट्टीका उनी विवाहपछि ससुरालीमै बस्दै आएका छन् । मागैनका बुबाआमाको नागरिकता नहुँदा उनले पनि नागरिकता बनाउन सकेका छैनन् । ‘बुबाआमाको धेरै पहिले मृत्यु भइसकेको छ, उहाँहरूको नागरिकता थिएन अनि मेरो पनि बनेन,’ मगैनले भने । उनको नागरिकता नहुँदा पत्नी ५५ वर्षीया उर्मिला सदाको पनि नागरिकता बन्न सकेको छैन । अहिले उनका ६ जना सन्तान जन्मदर्ता पाउनैबाट वञ्चित छन् ।

‘मसँग नागरिकता नहुँदा छोरीहरू २४ वर्षीया ललिता, २२ वर्षीया सोमिन्द्रा, संगीता र १५ वर्षीया जितनी तथा छोराहरू १७ वर्षीय गोविन्दा र १६ वर्षीय दीपकको जन्मदर्ता हुन सकेको छैन,’ मगैन भन्छन्, ‘जन्मदर्ता नहुँदा पढ्न पाएनन, अहिले नागरिकता नबन्दा समस्या भइरहेको छ ।’

ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरू ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । ‘आफ्नो जीवन त जसोतसो चलिरहेकै छ तर कम्तीमा छोराहरूको नागरिकता बनाउन पाए हुन्थ्यो,’ उनले भने, ‘तर, नागरिकता पाउने छाँटकाँटै छैन ।’

वडाध्यक्ष नवीनकुमार चौधरीले सतोदेवीसँग कुनै कागजी प्रमाण नरहेकाले नागरिकता सिफारिस गर्न समस्या भइरहेको बताए । ‘उहाँहरूले नागरिकता पाउनुपर्ने हो तर उहाँहरूसँग कुनै कानुनी आधार छैन, ’ चौधरी भन्छन्, ‘हामीले चाहेर पनि सिफारिस दिन सकेका छैनौं ।’

प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रक्रिया पुर्‍याएर आउनेलाई नागरिकता दिन कुनै समस्या नरहेको बताए । ‘नागरिकता दिन उहाँहरूसँग कानुनी आधार छैन,’ उनी भन्छन्, ‘कुनै हिसाबले कानुनी आधार कायम भएमा नागरिकता दिन सकिन्छ ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully