काभ्रे — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्त हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथ जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
सोमबार, काभ्रेको बनेपा नगरपालिका , मण्डन्देउपुर नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा सन्चालन गरिएको नगरकोट भ्रमण वर्ष २०८२ को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई देशको आर्थिक मेरुदण्डका रूपमा उल्लेख गरेका हुन् । यिनै क्षेत्रहरूमा विद्यमान समस्याहरू हटाएर उपयुक्त नीति, कानुन तथा अवसर सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
राष्ट्रपतिले रोजगारीका अवसर सिर्जना, लगानीमैत्री वातावरण निर्माण, उत्पादन लागत घटाई प्रतिस्पर्धा बढाउने तथा औद्योगिकीकरणमा जोड दिनुपर्ने बताए। उनले भने, 'न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्त हुँदै आर्थिक सुधार गर्न सकियो भने मात्र संघीय गणतन्त्र बलियो हुन्छ र जनताले चाहेको तीव्र विकास सम्भव हुन्छ।'
उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण गर्दै तिनलाई आर्थिक विकासको आधार बनाउनेतर्फ सरकार तथा सरोकारवालाहरू सचेत हुनुपर्ने बताए। 'नगरकोट तथा आसपासका क्षेत्रहरूको प्रकृति, संस्कृति र सभ्यतालाई नेपाल र अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गरेर देशको आय आर्जनमा योगदान दिन सकिन्छ,' राष्ट्रपति पौडेलको भनाइ थियो।
राष्ट्रपतिले नगरकोटलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि मनोहर गन्तव्यका रूपमा वर्णन गर्दै यहाँको सूर्योदय, हिमशृङ्खला र सांस्कृतिक विविधताले यो क्षेत्रलाई विशेष बनाएको उल्लेख गरे। चाँगुनारायण मन्दिर, महादेव पोखरी, मञ्जुश्री गुफा, भंगेरी, पुतली दरबार, शालीनदी, बज्रयोगिनी मन्दिर र साँखु बजारको ऐतिहासिक महत्त्वलाई जोड दिँदै उनले पदयात्रा मार्गहरूबाट पनि पर्यटन गतिविधि बढेको बताए।
नगरकोटलाई केन्द्रमा राख्दै चारवटा नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा प्रवर्द्धन गर्न थालेको कार्य प्रशंसनीय भएको भन्दै राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधार विस्तार, सडक स्तरोन्नति तथा पहुँच सहज बनाउनेतर्फ ध्यान दिन आग्रह गरे। 'स्थानीय वासिन्दा, उद्यमी, पर्यटन व्यवसायी र तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ,' उनले भने। नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले शान्ति, समावेशी समाज, दिगो विकास र आर्थिक समृद्धिसहित राष्ट्र निर्माणमा सबै एकजुट भई लाग्नुपर्ने प्रेरणा आजको दिनले दिन सकोस् भन्ने कामना पनि गरे।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा, बागमती प्रदेशका संस्कृति मन्त्री विमल ठकुरी, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाइवा, चगुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले भ्रमण वर्षको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
