'देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ'
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा जनता निराश भएको बताएकी छिन् । नयाँ वर्ष-२०८२ का राष्ट्रिय समाचार समितिमा प्रकाशित विचारमा पूर्वराष्ट्रपति भण्डारीले मिहिनेत र प्रयासका बाबजुद उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना भएको बताएकी हुन् ।
स्वदेशमै अर्थोपार्जनको अवसर नभएकाले लाखौँ युवा बिदेसिनु परेको पनि पूर्वराष्ट्रपतिको भनाइ छ । उनी भन्छिन्, 'स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पारेर अहिले लाखौँ युवाहरू विदेसिन बाध्य भएका छन् । स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुःखित र निराश बन्न पुगेका छन् ।' कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकोँ झमेला र दुःख ब्यहोर्न बाध्य हुनुपरेको पनि उनको विचार छ ।
पछिल्लो समय उनले विभिन्न फोरमहरूमा आफू सक्रिय राजनीतिमा आउन सक्ने बताउँदै आएकी छिन् । दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी भण्डारीले सक्रिय राजनीतिमा आउने मनसुवा देखाएकी हुन् । विद्यार्थीकालमा राजनीतिक जीवनको थालनी गरेको स्थान विराटनगर पुगेर उनले गत माघमा सक्रिय राजनीतिमा फर्कने प्रस्ट पारेकी थिइन् ।
शीतल निवासको गरिमा बिरानो, पार्टी राजनीतिको विरासत नै न्यानो
राससमा प्रकाशित विचारमा समेत मुलुकमा देखिएको पछिल्लो गत्यारोधका अन्त्यका लागि एमाले नै अग्रसर हुनुपर्ने उनको मत छ । 'नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ,' उनले भनेकी छिन् ।
उनले मदन भण्डारीको 'मौलिक विचार'ले मुलुकमा सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन सक्नेसमेत बताएकी छिन् । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न नेपाललाई कतैबाट रोकिएको समेत हुन सक्ने उनले आशंका व्यक्त गरेकी छिन् ।
उनी भन्छिन्, हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो–जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन । यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो ।'
राष्ट्रहित भन्दा महत्त्वपूर्ण अर्को कुनै विषय हुन नसक्ने र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी नहुने पनि उनको धारणा छन् । 'देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ,' उनी भन्छिन् ।
