गृह मन्त्रालयको निर्णयअनुसार उनी डिपोर्ट भएको दिनदेखि दुई वर्षसम्म नेपाल आउन पाउनेछैनन्
काठमाडौँ — राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिने भएको छ । १४ चैतमा माइतीघरमा राजसंस्थाका पक्षमा नारा लगाउँदै आक्रामक भएपछि ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो ।
'उनीमाथि अनुसन्धान गरेर गृह मन्त्रालय पठायौं । मन्त्रालयले डिपोर्ट गर्ने निर्णय गरेको छ,' अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।
उनका अनुसार आइतबार गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णयसहित फाइल पठाएको छ। 'मन्त्रालयको निर्णयअनुसार उनी डिपोर्ट भएको दिनदेखि दुई वर्षसम्म नेपाल आउन पाउनेछैनन्,’ ढकालले भने,‘गृहको निर्णयसँगै उनलाई डिपोर्ट गर्ने प्रक्रिया सुरु भएको छ ।’
ब्लिसले बयानका क्रममा आफ्नो उद्देश्य हिन्दु धर्म संरक्षणसँगै गाईको रक्षा गर्नुपर्ने, मानव बेचबिखनका विषयमा महिला तथा बालबालिका जोगाउनुपर्नेबारे वकालत गर्दै आएको बताएका थिए ।
आफूले नेपाल र भारतमा यस विषयमा काम गर्दै आएको बताउने ब्लिसले अनुसन्धान क्रममा सो दिन लहैलहैमा लाग्दा यस्तो भएको बताएका छन् । ‘म अनावश्यक रुपमा आवेगमा आएँ, मैले हातमा लिएको पप्लेट पनि कसैले थमाएका थिए,’ उनले अनुसन्धानमा भनेको ढकालले बताए । आफू राजनीतिक कार्यक्रममा सहभागी हुने उद्देश्यले त्यहाँ नगएको पनि उनको तर्क छ ।
‘कृपया, शुद्ध साकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्,’ ब्यानरसहित कार्यक्रम गरिरहेको क्रममा उनले भनेका थिए । ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’ लगायतका प्लेकार्डसहित उनले सरकारविरुद्ध अभद्र गाली गर्दै राजसंस्थाका बारेमा नारा लगाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेज छ । जहाँ नेपालमा विभिन्न ठाउँमा गई ‘साकाहारी अभियान’ चलाएका तस्बिर पनि पोस्ट भएको देखिन्छ । विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीसँगको तस्बिर पनि उनको सामाजिक सञ्जालमा छ ।
