काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वनका प्राविधिक विद्यार्थीहरूले वन क्षेत्रको विकास र समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
साथै नेपालको काठ सडेर जाने र विदेशको काठ खरिद गर्नुपर्ने समस्यालाई समाधान गर्न तथा समस्याको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाइएको समेत उनले बताए ।
नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान, हेटौंडा इकाई समितिले आयोजना गरेको स्वागत, सम्मान तथा बिदाइ कार्यक्रममा बोल्दै मन्त्री शाहीले कांग्रेसको नीतिलाई सफल बनाउन स्ववियु निर्वाचनमा भातृ सङ्गठन नेविसंघले भूमिका खेलेको बताए ।
देशका ठूला दुई दल मिलेर सरकार बनाउनुको मुख्य उद्देश्य नै विगतमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य र देशको आर्थिक विकासलाई अघि बढाउनु रहेको उनको भनाइ छ ।
