'रक्सीका बोतल लुटेर भाग्नेहरूले राजतन्त्र ब्युँताउँछु भन्दा कोही उल्किनु पर्दैन'

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

”Those who ran away after looting bottles of alcohol should wake up the monarchy.”

दमक — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अब कानुन र विधिअनुसार अगाडि बढ्ने बताएका छन् । एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गरे ।

ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजेझैं ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाउनेहरुलाई जनताले नपत्याएको उनको भनाइ थियो ।

'आन्दोलनका नाममा बैंक डुबाउने, आगजनी गर्ने, रक्सीका बोतल लुटेर भाग्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ को तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ,' उनले भने, 'विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं । तपाईंहरु अस्थिरतावादीको कुनै भ्रममा पर्नु पर्दैन ।'

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजना अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने बताए । भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइने उनले प्रतिबद्धता जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully