काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको दाबी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले गरेको बताए । कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले आफ्नो अर्थनीति यो हो भन्न सक्ने स्थिति नरहेको पनि उनको भनाइ छ । ‘आज यो अर्थतन्त्रको उदारीकरण कांग्रेसले गरेको हो । आज कांग्रेसबाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन,' उनले भने, 'कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् ।'
विकासको सन्दर्भमा नेपालले थुप्रै उदाहरण प्रस्तुत गरिरहेको पनि पौडेलको भनाइ थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै काम भएको पनि उनले बताए ।
समावेशिताको सन्दर्भमा नेपाल अगाडि रहेको पौडेलले उल्लेख गरे । नेपालको संसद् समावेशी रहेको बताउँदै उनले भने, 'समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ ? भारतको संसद् नेपालको जस्तो छ ?'
पछिल्लो समय नेपालमा थुप्रै उन्नति भएको पनि पौडेलले बताए । 'मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो ? शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धि पनि हामीले गरेका छौँ,' उनले भने । यी उपलब्धिमा नै सन्तुष्टि हुने स्थिति भने नरहेको मन्त्री यादवले बताए ।
चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको पनि मन्त्री पौडेलको भनाइ थियो ।
