१० लिटर पानी भर्नका लागि पनि दल्लेखकी भगु दमाईले आउन–जान १ घण्टा हिँड्नुपर्छ ।
दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–९ र सायल गाउँपालिका–५ को बीचमा पर्छ दल्लेख गाउँ । सायल–६ को यो गाउँको बीचभाग भएर कच्ची सडक बनेको छ । सडकमाथि रहेको दलित समुदायको बस्तीमा १८ घरधुरी छन् । सडकमुन्तिरको हिमालय माध्यमिक विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको तलतिर साउनकाँडा गाउँमा ४० परिवारको बसोबास छ । उनीहरूलाई सधैं पानीको जोहो गर्ने पिरलो छ ।
सडकको छेउमा लेकबाट ल्याएको एउटा सानो धारा छ । धारामा २० मिनेटमा मुस्किलले १० लिटर पानी आउने गरेको स्थानीय बताउँछन् । १० लिटर पानी भर्नका लागि पनि दल्लेखकी भगु दमाईले आउन–जान १ घण्टा हिँड्नुपर्छ । ‘यी दुई गाउँ र विद्यालयका लागि एकमात्र धारा हो । यहीं पानीका लागि ३ देखि ४ घण्टासम्म लाइनमा बस्नुपर्छ । बिहान ४ बजे आउन सके मात्रै छिटो पालो पाइन्छ,’ उनले भनिन्, ‘नेताहरू भोट माग्दा मात्रै कुरा सुने जस्तो गर्छन् । पानीका लागि वडाध्यक्ष र गाउँपालिका अध्यक्षसँग कुरा राख्दा राख्दा थाकिसके ।’
स्थानीयले आफ्नै सक्रियतामा खप्तड जाने बाटोमा पर्ने लेकबाट पाइप लगाएर गाउँसम्म ल्याएको एक धारा पानी दुई वटा बस्ती र विद्यालय गरी तीन ठाउँमा बाँड्ने गरेका छन् । साँझ–बिहान दुवै बस्तीमा आलोपालो गर्ने र दिउँसो केही समय विद्यालयको लाइनमा दिने गरेका छन् । परिवारमा एक जनाको दिनभरको काम पानी भर्ने मात्रै हुने गरेको सोही गाउँकी तारा दमाई सुनाउँछिन् । ‘दलित समुदायको बस्तीलाई त गाउँ नै मानेका छैनन् । हामीलाई पानीको धेरै सास्ती छ,’ शुक्रबार धारामै लाइन बसेकी उनले भनिन्, ‘यो पानी खानलाई मात्रै होइन, सरसफाइ र चौपायाका लागि पनि पुर्याउनु परेको छ ।’
बर्खामा केही सहज भए पनि नजिक अर्को स्रोत नहुँदा हिउँद र गर्मी सिजनमा पानीका जोहो गर्न सास्ती भइरहेको उनीहरू बताउँछन् । हिमालय माविका दल्लेखका प्रधानाध्यापक हेमराज दहालले भने, ‘यस ठाउँमा पानीको धेरै समस्या छ । पानीकै समस्याले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । हामीले सम्बन्धित निकायमा कुरा राखेका छौं । अब हेरौं के हुन्छ कि ।’
चुनावका बेला आएका नेताले सबै गाउँमा पक्की सडक र टोलटोलमा खानेपानीको धारा बनाइदिने वाचा गर्दै आए पनि अहिलेसम्म पूरा नगरेको धारामा लाइन बसेकी अर्की महिला तुली दमाईले बताइन् । उनले भनिन्, ‘चुनावका बेलामा हामीलाई भुलाईफकाई भोट माग्छन् । जितेपछि त्यहाँ पनि गाउँ छ र ! भन्ने जस्ता कुरा गर्छन् ।’ दल्लेखकी पार्वती
दमाई भने आउँदो निर्वाचन अगाडि पानीको व्यवस्था गरिदिनेलाई भोट दिने अभियान चलाउने सोचमा रहेको बताउँछिन् । ‘नेताहरूले जहिल्यै आश्वासन मात्रै दिने भए । अब जसले पानी दिन्छन्, २०८४ सालको भोट उसलाई दिनुपर्छ,’ उनले भनिन् ।
यी दुई बस्तीसहित विद्यालयमा खानेपानीको व्यवस्था गर्न धेरै बजेट चाहिने भएकाले प्रदेश र संघीय सरकारसँग पहल थालिएको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । ‘यो वर्ष त्यही टोलका लागि गाउँपालिकाबाट सिफारिस गरेर प्रदेश र संघीय सरकारमा दिएका छौं । गत वर्ष यस्तै समस्या भएको वडा २ को खानेपानी योजनामा ८० लाख रुपैयाँ विनियोजन भएर काम सुरु भएको छ । आउँदो वर्ष यहाँको समस्या समाधान गर्न पहल भइरहेको छ ।’
