'हाम्रो प्रशासनमा प्रविधिबाट काम हुने व्यवस्था गरौं, अब कार्यालयमा गएर निवेदन दिन नपर्ने, घरै बसेर इमेल गरेर काम हुने स्थिति निर्माण गरौं'
काठमाडौँ — अबको २० वर्षपछि सबै काम रोबोटले गर्ने दाबी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिक, प्रशासनिक र सुरक्षा जनशक्ति घटाउनुपर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित कांग्रेस पार्टीको कार्यक्रममा सेवाग्राहीले कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका हुन् । संघीय ससंद्का सदस्य संख्या, प्रदेश सभाका सदस्यको संख्या, स्थानीय तहका साथै प्रशासनिक र सुरक्षा निकायको जनशक्ति पनि घटाउनुपर्ने मन्त्री पौडेलको प्रस्ताव छ ।
संघीयतामाथि प्रश्न उठ्न लागेकाले राजनीतिक र प्रशासनिक संरचना घटाउनुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।
'चालु खर्च घटाउन मितव्ययिता अपनाउन जरुरी छ । २७५ को संसद्लाई घटाएर २०१ मा झारौं । प्रदेश सभाको सांसद संख्यालाई आधामा झारौं । पालिकाको संख्या घटाउँ, बरु वडाको संख्या बढाउन सकिन्छ । संघीय मन्त्रिपरिषद् २५ बाट १५ जनामा झारौं । प्रदेशको मन्त्रिपरिषद्को ३ जनामा झारौं,' मन्त्री पौडेलले भने, 'यो राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन मिल्छ । सुरक्षा अंगको संख्या पनि घटाउन मिल्छ । आज प्रविधिको दुनिया हो । अब म्यानुअल्ली काम गर्न जरुरी छैन । अब २० वर्षपछि सबै काम रोबोटले गर्छ । हाम्रो प्रशासनलाई प्रविधिबाट काम हुने व्यवस्था गरौं । अब कार्यालयमा गएर निवेदन दिन नपर्ने, घरै बसेर इमेल गरेर काम हुने स्थिति निर्माण गरौं ।'
मुलुकको प्रगति गर्ने हो भने वर्तमान अवस्थाप्रति असन्तुष्टि आवश्यक रहेको पनि मन्त्री पौडेलको भनाइ थियो । 'प्रगति गर्ने हो भने असन्तुष्ट हुनैपर्छ । पुगेन भनेर पुर्याउनतिर लाग्नैपर्छ । तर त्यो सकरात्मक, व्यवस्थित, विधिवत ढंगबाट मर्यादा कायम गरेर हुनुपर्यो,' उनले भने ।
