देउवाको स्पष्टीकरण : योगी आदित्यनाथबारेको अभिव्यक्ति गलत सूचनाले दिएँ

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Deuba's explanation: I gave the statement about Yogi Adityanath based on wrong information

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफूले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत देउवाले यसअघि आफूले बोलेको भनाइ गलत सूचनाको आधारमा भएको स्वीकार गर्दै स्पष्टीकरण दिए । केही दिनअघि सार्वजनिक कार्यक्रममा देउवाले योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा आएर 'नेपालमा राजतन्त्रको पक्षमा छैन' भन्ने अभिव्यक्ति दिएको दाबी गरेका थियो।

तर, पछिल्लो कार्यक्रममा देउवाले मुख्यमन्त्री आदित्यनाथ नेपाली दूतावास नगएका स्पष्ट पारे। उनले भने, 'अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेछु । उहाँ दूतावासमा आउनुभएको होइन, बरु भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उहाँलाई भेट्न जाँदा भएको कुरा हो।'

देउवाले आफूलाई भएको भ्रमको कारण जनतामा गलत सन्देश गएकोप्रति खेद व्यक्त गर्दै 'हामी नेपालमा राजाको पक्षमा छौँ भन्ने कुरा बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन' भनेर स्पष्ट पारे ।

त्यसैगरी, सभापति देउवाले वर्तमान सरकारको कामकारबाहीप्रति पनि चिन्ता व्यक्त गरे । उनले सरकारले जनताको पैसाको सदुपयोग गर्नुपर्ने र अनावश्यक खर्च रोक्नुपर्ने कुरामा जोड दिए। 'सरकारको नाममा अहिले धेरै ठूलो बद्नामी भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु,' देउवाले भने ।

कान्तिपुर

Link copied successfully