बुटवल — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताएका छन् ।
एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार कुनै पनि अवस्थामा नढल्ने बताएका हुन् । ‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस । हल्लिँदा पनि हल्लिँदैन,’ उनले भने, ‘मुलुकमा धेरै खाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो ।’
पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् ।
