दुई माेटरसाइकल जुध्दा एकजनाकाे निधन, ४ घाइते

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

One dead, 4 injured in collision between two motorcycles

काठमाडौँ — भरतपुर महानगरपालिका-२५ छाताचाेकमा शुक्रबार दिउँसाे दुईवटा माेटरसाइकल ठक्कर खाँदा एकजनाकाे निधन भएकाे छ । माेटरसाइकलमा रहेका चारजना घाइते भएका छन् । घाइतेमध्ये दुईकाे अवस्था गम्भीर र दुईकाे अवस्था मध्यम रहेकाे चितवन प्रहरीले जानकारी दिएकाे छ ।

निधन हुनेमा भरतपुर महानगरपालिका-२७ का ३९ वर्षीय टेकबहादुर पुलामी छन् । उनले चलाएको ना ५१ प २०४१ माेटरसाइकल बा प्र ०६-००२ प १३०४ नम्बरकाे माेटरसाइकलसँग ठाेक्किएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बुले जानकारी दिए ।

टाउकाेमा चाेट लागेर गम्भीर घाइते भएका पुलामीकाे उपचारका क्रममा पुरानाे  मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा निधन भएकाे हाे  । पुलामीले चलाएकाे माेटरसाइकलमा बसेका भरतपुर-२७ कै केशरी पुलामी मगर र साेही ठाउँका सुजिता पुलाामी मगर पनि घाइते छन् । केशरीकाे टाउकाेमा चाेट छ । उनकाे अवस्था गम्भीर छ । सुजिताकाे अनुहार र हात खुट्टामा चाेट छ । उनकाे अवस्था मध्यम छ ।उनीहरू दुवैकाे पुरानाे मेडिकल कलेजकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।

अर्काे माेटरसाइकलका चालक भरतपुरका विशाल भट्टराईकाे टाउकाेमा चाेट लागेको छ । भरतपुरकाे सरकारी अस्पतालमा उनको उपचार भइरहेकाे छ । भट्टराईले चलाएकाे माेटरसाइकलकाे पछाडि बसेका सफल पाैडेलकाे शरीरका विभिन्न ठाउँमा चाेट छ । उनकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । पाैडेलकाे पनि सरकारी अस्पतालमै उपचार भइरहेकाे छ ।

कान्तिपुर

Link copied successfully