अञ्जान शाक्य दिगो विकाससम्बन्धी र सोबिता गौतम स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा निर्वाचित
काठमाडौँ — विश्वभरका संसद्को संगठन ‘अन्तर व्यवस्थापिका संघ’ (आईपीयू) अन्तर्गतका समितिमा नेपालले पहिलोपटक प्रतिनिधित्व पाएको छ । नेपालका दुई सांसद आइपीयूका समिति सदस्य निर्वाचित भएका छन् । अञ्जान शाक्य दिगो विकाससम्बन्धी र सांसद सोबिता गौतम स्वास्थ्यसम्बन्धी समिति सदस्यमा निर्वाचित भएका छन् ।
उज्बेकिस्तानको तासकन्दमा सम्पन्न १५० औं अन्तर व्यवस्थापिका संघको वार्षिक सभामा नेपालका दुई सांसद समिति सदस्य बनेका हुन् ।
सभामुख देवराज घिमिरेले दिगो विकास समितिमा शाक्य र स्वास्थ्य समितिमा गौतम सदस्य बन्दा आईपीयूका आन्तरिक प्रक्रियामा नै सहभागी हुने अवसर नेपालले प्राप्त गरेको बताए । ‘योभन्दा अगाडि के हो आईपीयू भन्ने कुराको अन्तर्य बुझ्न नपाउँदै आफ्ना धारणा मात्रै राख्ने गर्थ्यौं भने यसपालि आन्तरिक कुरा बुझ्ने, त्यसको नेतृत्व निर्माण गर्ने र निर्णय प्रक्रियामा सहभागी हुने राम्रो अवसर प्राप्त भएको छ,’ सभामुख घिमिरेले भने ।
आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई यसपटकको स्तरोन्नति गरी समिति बनाइएको थियो । यो समितिमा रास्वपाकी सांसद गौतम चार वर्षका लागि सदस्य निर्वाचित भएकी हुन् । १५ सदस्यीय यो समितिका सदस्यको कार्यकाल मार्च २०२९ सम्म रहनेछ ।
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै निर्वाचित भएकी हुन् । माल्दिभ्स, इरान र नेपालको प्रतिनिधित्वका लागि उम्मेदवारी परेको थियो । जसमा नेपालकी सांसद शाक्य निर्वाचित भइन् ।
सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुख/अध्यक्षलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए । यो समितिले संसद्हरूले दिगो विकाससँग सम्बन्धित कानुन निर्माणमा, दिगो विकास लक्ष्य कार्यान्वयन लगायतका विषयमा काम गर्छ ।
स्वास्थ्य समिति सदस्यमा भने सांसद गौतमले व्यक्तिगत पहलमा उम्मेदवारी दिएर निर्वाचित भएकी हुन् । काठमाडौंबाट उज्बेकिस्तान जानुपहिले शाक्यले उम्मेदवारी दिने तय थियो भने गौतमले उम्मेदवारी दिने टुंगो लागेको थिएन ।
सांसद गौतमले आइपीयूको स्वास्थ्य समितिको सदस्य हुँदा नेपालको कूटनीतिक क्षेत्र बिस्तार भएको बताइन् । ‘यो समितिले संसदीय कूटनीतिको माध्यमबाट कसरी संसारभरी स्वास्थ्यको मापदण्ड कसरी समान गर्न सक्छौं भन्ने लगायतका विषयमा काम गर्छ । विश्वका विभिन्न देशमा स्वास्थ्यको स्थिति, यससम्बन्धी कानुन र प्रगतिका विषयमा आईपीयू महासभाका लागि एजेन्डा तय गर्ने कार्य पनि यो समितिले गर्छ । कुनै देशमा महामारी फैलियो वा स्वास्थ्य संकट आयो भने त्यहाँ पनि यो समितिले अनुगमन गर्ने लगायतका कार्य गर्ने रहेछ,’ गौतमले भनिन्, ‘अन्तर्राष्ट्रिय फोरममा मेरो व्यक्तिगत तहमा भन्दा पनि नेपालको उपस्थिति भयो । यस्तो समितिमार्फत नेपालको विचारको र मतको अर्थ हुने भयो । अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिका देखिने भयो । नेपालका स्वास्थ्य सम्बन्धी इस्युलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन सकिने माध्यम यो समिति पनि बन्यो ।’
संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा प्रमुख बबिता मिश्रले नेपालले पहिलोटक आईपीयूका समितिमा सहभागिता जनाएको जानकारी दिइन् । ‘नेपालले आईपीयूको सदस्यता सन् १९६७ मा लिएको थियो । संसद्को अभिलेखअनुसार सन् १९९१ को ८६ औं सम्मेलनदेखि सभामुख र अध्यक्षको तहबाट सहभागिता जनाउँदै आएका छौं । आईपीयूका समितिमा सांसद नै सदस्य भएको यो पहिलोपटक हो, यसअघि कुनै पनि माननीय सदस्य भएको हाम्रो रेकर्डमा देखिँदैन,’ मिश्रले भनिन् ।
आईपीयूको सम्मेलन वर्षमा दुईपटक हुन्छ । नेपालबाट प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष आलोपालो यो सम्मेलनमा जाने संसदीय टोलीको नेतृत्व गर्दै आएका छन् । वार्षिक सभा तथा महासभामा संसदीय टोलीको नेतृत्वले देशको तर्फबाट सम्बोधन गर्छन् । संसदीय टोलीमा यसअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतक सहभागी जनाउँदै आएकामा यसपटक भने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेबाट राष्ट्रिय सभा सदस्य शाक्य, माओवादीका सूर्यमान दोङ र रास्वपाकी गौतम सहभागी भए ।
महाशाखा प्रमुख मिश्रका अनुसार नेपालले आईपीयूलाई सदस्यता शुल्क बर्सेनि तिर्दै आएको छ । ‘यसमा हाम्रो उपस्थिति र प्रभावकारीता बढाउने साइडलाइन बैठक हुन्छन् । दुई देशका संसद्बीच बैठक हुन्छन् । हाम्रा सांसदले पनि विभिन्न कमिटीमा सक्रिय भाग लिने र आफ्ना विषय उठाउने गर्नुहुन्छ,’ मिश्रको भनाइ छ, ‘कूटनीतिका लागि सफ्ट पावर प्रयोगका लागि यो राम्रो फोरम हो ।’ आईपीयूमा संसद्का महासचिवहरूको पनि सभा चल्छ । महासचिवहरूको कार्यकारी परिषद्मा मा यसअघि भरतराज गौतम सदस्य रहिसकेका थिए ।
आइपीयूको १५० औं वार्षिक सभामा नेपालको सहभागिता सफल भएको सभामुख देवराज घिमिरेको भनाइ छ । उज्बेकिस्तानबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसद्को पहलका विषयमा गम्भीर छलफल भएको बताए । ‘समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र समाजमा अहिले पनि भइरहेका असमानताका कुरामा विचार विमर्श भयो,’ उनले भने, ‘हामीले समानताका लागि विधायिकी ठाउँमा राम्रो काम गर्न एक हदसम्म सकेको र समावेशीका हिसाबले सबै धर्म जाताजातिलाई समावेश गर्न सकेको अनुभव राख्यौं ।’ आईपीयूको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ सम्म आयोजना भएका थिए ।
