बुटवल — एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजा ल्याउने अभियानमा लागेका दरबारिया प्रतिगामी तत्वले पहिलो पटक टाउको उठाएकै बखत निस्तेज भएका छन् । उद्देश्य राम्रो नभएकाले उनीहरू तोडफोड र लुटपाटमा लागेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभामा दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए ।
‘पहिलोपटक के टाउको उठाउन खोज्दै थिए, एक झट्कामै उनीहरूको चरित्र पर्दाफास भएको छ,’ उनले भने, ‘तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसाग सचेत हुनुपर्नेछ ।’
दलहरू सधैँ जनतासँग रहने र दरबारियाहरू सधैँ आफ्नो स्वार्थमा केन्द्रित हुने भएकाले त्यस्ताबाट सजग रहनुपर्ने उनले बताए । एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व भएको उनले बताए ।
लुम्बिनीले हरेक आन्दोलनको गौरवमय इतिहास राखेको भन्दै उनले पार्टी एकतामा जोड दिए । नयाँ पार्टीहरूप्रति संकेत गर्दै उनले विचारशून्य र अवसरवादको प्रर्याय भएको बताए । सभामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु गरेका छन् ।
